काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको प्रतिनिधित्व गर्ने घोषणा गरेको छ ।
विश्वकै सबैभन्दा ठूलो ओलम्पिक स्तरको युवा रोबोटिक्स प्रतियोगिता ७ देखि १० अक्टोबर २०२६ सम्म दक्षिण कोरियाको इन्चोनस्थित साङ्दो कन्भेन्सियामा आयोजना हुनेछ ।
यस वर्षको विश्वव्यापी विषयवस्तु ‘इग्नाइटिङ इनोभेसन’ अन्तर्गत १९० भन्दा बढी राष्ट्रका टोलीहरूसँग टीम नेपालले प्रतिस्पर्धा गर्नेछ, जसमा टोलीहरूले वन डढेलो रोकथाम, न्यूनीकरण र वातावरणीय उत्थानशीलताका लागि रोबोटिक समाधान डिजाइन गर्नुपर्नेछ ।

आरएनले फस्ट ग्लोबलसँग विशेष सम्झौता गरेको छ, जसअन्तर्गत यस अमेरिका–आधारित गैरनाफामूलक संस्थाले हरेक वर्ष नेपालको राष्ट्रिय टोली गठन तथा व्यवस्थापनको जिम्मेवारी आरएनलाई दिने गरेको छ ।
यस वर्षका तीन विद्यार्थी प्रतिनिधि एआई फर गुड – राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा छनोट गरिएका हुन्, जुन नेपालका उदीयमान रोबोटिक्स प्रतिभा पहिचान गर्ने राष्ट्रिय प्रक्रिया हो ।
छनोट भएयता विद्यार्थीहरूले विगत दुई देखि तीन महिनासम्म आरएनको काठमाडौंस्थित कार्यालयमा प्रतियोगिताका लागि रोबोट निर्माण तथा तालिम लिँदै आएका छन् ।
‘लगातार तेस्रो वर्ष फस्ट ग्लोबल च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्नु सम्मान र जिम्मेवारी दुवै हो,’ रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकास गुरुङले भने, ‘तीन विद्यार्थीले विगत केही महिनामा अत्यन्त अनुशासनका साथ मेहनत गरेका छन्, र उनीहरूको छनोटले नेपालभरका विद्यालयबाट देखिएको रोबोटिक्स प्रतिभाको गहिराईलाई प्रतिबिम्बित गर्दछ ।’
आईसीटी समाचार