सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘टेकएक्स एलिभेट २०२५’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौंको डिल्लीबजारस्थित कलेज परिसरमा हुने कार्यक्रमको नारा ‘Redefining Tech, Talent & Startups’ दिइएको छ ।
यसपटकको संस्करणले विद्यार्थी नवप्रवर्तन, उद्यमशीलता, रोजगारी अवसर र इन्जिनियरिङ क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य राखिएको कलेजले जनाएको छ ।
चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममार्फत स्नातक र स्नातकोत्तर विद्यार्थीहरूले तयार पारेका १५ भन्दा बढी प्रविधिमूलक परियोजनाहरू प्रदर्शनमा आउने छन् । कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रसहित स्टार्टअप फेयर, प्रोजेक्ट शोकेस, इन्स्पायर टक, र आन्टरप्रेनरसीप मास्टरक्लास हुनेछ।
१७ र १८ जुलाईमा, रोजगार मेला सञ्चालन हुनेछ, जहाँ देशका प्रमुख आईटी कम्पनीहरू सहभागी हुनेछन् । यही दिनदेखि सुरु हुने ‘Iron Clash: फलामको महासंग्राम’ नामक रोबोट युद्ध प्रतियोगिता तीन दिनसम्म चल्नेछ, जसमा छात्र-छात्राद्वारा निर्माण गरिएका २२ युद्ध रोबोटहरूबीच रोमाञ्चक भिडन्त हुनेछ ।
प्रत्येक दिनको इन्स्पायर टक सत्रमा प्रविधि क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूले सहभागी हुनेछन् भने उद्यमशीलता मास्टरक्लास मार्फत भविष्यका संस्थापकहरूलाई व्यवहारिक ज्ञान र बीउ पुँजीसम्बन्धी जानकारी दिइनेछ ।
१९ जुलाईमा कार्यक्रमको समापन हुनेछ, जसमा उत्कृष्ट प्रोजेक्ट तथा रोबोट प्रतिस्पर्धीहरूलाई सम्मान गरिनेछ । टेकएक्स एलिभेट अघिल्ला संस्करणहरूमा झैं यो वर्ष पनि हजारौं विद्यार्थी, प्रविधि पेशेवर, उद्योग साझेदार र लगानीकर्ताहरूको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।