कीवर्डहरू -

सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्छः मन्त्री शर्मा

सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरू भएको २० औं लोकस प्राविधिक मेला उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको नेतृत्व गर्नुपर्ने बताएकी हुन् । 

‘आजको सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले नै देश बनाउने कामको अगुवाई गर्नुपर्छ,’ उनले भनिन, ‘त्यसका लागि तपाइँ नयाँ पुस्ताले समृद्ध नेपालको सपना देख्नुपर्छ ।’ 

अध्ययन, अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिडेको बाटोलाई कहिल्यै नबिर्स र त्यसरी प्राप्त गरेको विज्ञता देशका लागि प्रयोग विद्यार्थीहरुलाई मन्त्री शर्माले आग्रह गरिन् । 

विश्वमा एकपछि अर्को सूचना प्रविधिको विकास भइरहेको बेला अब यसबाट भागेर होइन, यसको उचित प्रयोग र आवश्यक विकास गरेर मात्रै देशलाई अघि बढाउन सकिने बताइन् । अब मुलुक डिजिटल रुपान्तरणविना कुनै पनि क्षेत्रमा अगाडि बढ्न नसक्ने धारणा व्यक्त गर्दै शर्माले सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिइन् । 

उनले अगाडि भनिन, ‘डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो ।’ पछिल्लो समय विकसित रोबोटिक्स, एआई, आइओटी, ब्लकचेन जस्ता नवीनतम क्षेत्रमा पनि राज्यको स्पष्ट धारणा निर्माण गर्ने र ती सबै प्रविधिलाई मुलुक र नागरिकको हितमा प्रयोग गर्ने सवालमा योजना बनाउन अब ढिलाई गर्न नहुने स्पष्ट गर्दै उनले नेपालको आफ्नै स्याटेलाइट हुनुपर्छ भन्ने सरकारको मान्यता रहेको स्पष्ट पारिन् । 

सञ्चार तथा सूचना प्रविधिमा आफ्नै देशको माटो सुहाउने अध्ययन अनुसन्धान आवश्यक रहेको औल्याउँदै उनले यसमा सहयोग पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढिसकेको र सातै प्रदेशमा यस्ता एक्सिलेन्स सेन्टर स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।