टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ यही बिहीबार र शुक्रबार आयोजना हुँदैछ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने फेस्टमासातै प्रदेशका स्टार्टअप तथा इन्नोभेसनहरूको सहभागीता रहने छ ।
बिहीबार बिहान ११ बजेदेखि सुरू हुने फेस्टको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले गर्नेछन् । यस बाहेक कार्यक्रम विशिष्ट व्यक्तिहरूको समेत सहभागीता रहने छ ।
१०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहने फेस्ट आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्ट समेत हो । फेस्टमा सह आयोजकको रूपमा द स्क्वाइड अफ चेन्जमेकर रहेको छ भने इन्जिनियरिङ आउटरिचको रूपमा इन्जिनियरर्स भ्लग्सले सहकार्य गरेको छ ।
स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ ।
यस फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू शोकेस हुनेछन् ।
कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ । सूचना प्रविधिमा रूची राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जो कोहीले पनि फेस्टको अवलोकन गर्न सक्ने छन् ।
फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्रि भिजिट जस्ता कार्यक्रम सञ्चालन भइसकेका छन् ।
सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ ।
अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा रहेको छ । फेस्टमै अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका सेमिफाइनलिष्टहरूलाई अवलोकनकर्ताले भोट समेत गर्न सक्ने छन् ।
टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको कार्यक्रमलाई एनसेल फाउन्डेसनको पनि सहयोग रहेको छ ।