कीवर्डहरू -

टेलिकम तथा आईएसपीको साइबर सुरक्षा अडिट गर्ने कम्पनीको सूची बनाउँदै दूरसञ्चार प्राधिकरण

टेलिकम तथा आईएसपीको साइबर सुरक्षा अडिट गर्ने कम्पनीको सूची बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ का लागि साइबर सुरक्षा अडिटरको रोष्टर बनाउने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै इच्छुक फर्महरूलाई आवेदन दिन आग्रह गरेको हो ।

प्राधिकरणबाट अनुमति पाएका टेलिकम सेवा प्रदायक, मोबाइल सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको साइबर सुरक्षा रोष्टरमा समावेश भएका कम्पनीले मात्रै गर्न पाउने छन् । 

त्यसैका लागि प्राधिकरणले साइबर सुरक्षा विनियमावली २०७७ अनुसार इन्फर्मेसन्स सेक्युरिटी अडिटर र क्लाउड अडिटरको सूची तयार पार्न लागेको हो । इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सेक्युरिटी फर्मले आवश्यक डकुमेन्टसहित आवेदन पेश गर्न सक्ने छन् । आवेदन प्राधिकरणको कार्यालय बुझाउन वा [email protected] मा पनि इमेल गर्न सकिने छ ।

आवेदन दिनका लागि साइबर सुरक्षा विनियमावली २०७७ मा तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । आवेदन दिने फर्मले सम्बन्धित देशमा दर्ता भएको, भ्याट/प्यानमा दर्ता भएको र कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै विदेशी फर्मले गत ३ वर्षमा वार्षिक ५ मिलियन अमेरिकी डलर आम्दानी गरेको हुनुपर्ने र नेपाली कम्पनीले ३० लाख रूपैयाँ वार्षिक आम्दानी गरेको हुनुपर्नेछ । साथै गत ३ वर्षको वित्तिय अडिट प्रतिवेदन पनि पेश गर्नुपर्नेछ ।

फर्म कम्तिमा पनि ३ वर्ष आईसिटी कम्पनीको रूपमा दर्ता भएको र २ वर्ष साइबर सुरक्षाको क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । आवेदन दिने फर्मले २ वर्षमा कम्तिमा ३ वटा परियोजना सम्पन्न गरेको हुनुपर्नेछ । फर्ममा काम गर्ने कम्तिमा ३ जना विशेषज्ञ हुनुपर्नेछ, जोसँग साइबर सेक्युरिटीसँग सम्बन्धित प्रमाणपत्रहरू समेत हुनुपर्नेछ ।

त्यसपछि आवेदकका कागजात अध्ययन गरेर प्राधिकरणले सूची सार्वजनिक गर्नेछ । उक्त सूचीमा परेका कुनै अडिटर फर्मबाट मोबाइल सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायत दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएका दूर सञ्चार सेवा प्रदायकले आफ्नो कम्पनीको साइबर अडिट गर्नुपर्नेछ ।