नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
आईतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले सेवा प्रदायकहरूलाई जथाभावी वाईफाई हटस्पट सञ्चालन सञ्चालन नगर्न निर्देशन दिएको हो ।
दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन यस प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा वा मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईको माध्यमबाट समेत सिमिलेस/रोमिङ/मोबिलिटी प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ ।
यी सेवा प्रदायकहरु बाहेक अन्य अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकहरुले प्राधिकरणको वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली, २०७५ को विनियम २ (ङ) र २(च) मा परिभाषित निश्चित क्षेत्र वा परिधि भित्र वाईफाई हटस्पट (Wifi Hotspot) सञ्चालन गर्न सक्ने र विनियम ५(१) एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाइफाइ हटस्पट सेवा प्रयोग गर्न सक्ने जस्ता शर्तहरुको पालना गरी मात्र वाईफाई हटस्पट सेवा सञ्चालन गर्न सक्छन् ।
साथै वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ वमोजिम Power Limit, Backhaul/ Backbone Restriction लगायतका शर्तहरु अनिवार्य रुपमा पालना गरी प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरणहरु मात्र प्रयोग गर्न सकिन्छ ।
अन्यथा, प्रचलित कानून बमोजिम कारवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।