नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी गराएको हो ।
‘देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नती गर्ने आफ्नो अभियान एवं लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट,जुम्ला,मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।
माइक्रोवेभ रेडियो लिंक मार्फत सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट तथा मोबाइल सेवासंग सम्बन्धीत उपकबरणहरुका साथै एनटी टिभी ब्राण्डको टेलिभिजन सेवा समेत चैत्र ८ गतेबाट अप्टिकल फाइबर मार्फ सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोशेढुंगाको रुपमा लिन सकिने टेलिकमको भनाइ छ ।
सेवा विस्तार संगै सो क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने टेलिकमले विश्वास लिएको छ । टेलिकमले दशेको भौगोलिक चुनौतीलाई आत्मसाथ गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्धारा जोड्न सदैव प्रतिबद्ध रहेको समेत बताएको छ ।