नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बुधबार संयुक्त प्रेस वक्तव्यमार्फत सरोकारवाला २८ संस्थाले टेलिग्राम प्रतिबन्ध गर्ने निर्णय संविधान प्रदत्त मौलिक हक तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको दाबी गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम एपमा इन्टरनेट सेवा रोक्न निर्देशन दिएको थियो । उक्त निर्णय अनलाइन ठगी र मनी लाउन्डरिङ नियन्त्रणको नाममा गरिएको भए पनि त्यसको आधार नपुगेको सरोकारवालाहरूको आरोप छ ।
‘टेलिग्राम जस्ता डिजिटल सञ्चार माध्यम नागरिकको सूचना पहुँच, अभिव्यक्ति, अध्ययन, सामाजिक अभियान र समन्वयको आधार बनेका छन्,’ प्रेस विज्ञप्तीमा भनिएको छ, ‘एकपक्षीय प्रतिबन्धले प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र डिजिटल समावेशितामाथि प्रश्न उठाएको छ ।’
सर्वोच्च अदालतको अघिल्लो आदेश र हाल राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जालसम्बन्धी विधेयकको पनि स्मरण गराउँदै भनेका २८ संस्थाहरूले भनेका छन् — ‘वैध कानुनी आधार विना टेलिग्राम जस्तो प्लेटफर्म बन्द गर्नु लोकतान्त्रिक मूल्य र विधिको शासन विपरीत हो ।’
साथै सरकारलाई तत्काल टेलिग्राममाथिको प्रतिबन्ध फिर्ता गर्न, डिजिटल नियमन संविधान र अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न तथा नीति निर्माणमा सबै सरोकारवाला पक्षसँग संवाद गर्न आग्रह गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, डिजिटल अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउँदै यस्ता एकपक्षीय निर्णयहरूले नागरिक स्वतन्त्रता कुण्ठित गर्नुका साथै डिजिटल भविष्यप्रति जनविश्वाससमेत कमजोर बनाउने चेतावनी दिइएको छ ।
टेलिग्राम जस्ता डिजिटल सञ्चार प्लेटफर्महरू सूचनाको आदानप्रदान, जनसहभागिता, शैक्षिक गतिविधि, सामाजिक अभियान र सामुदायिक समन्वयका सशक्त माध्यमको रूपमा स्थापित भइसकेको अवस्थामा, यस्तो प्रतिबन्धले नागरिकको सञ्चार माध्यम छनोट गर्ने अधिकारमाथि प्रहार गरेको उनीहरूको ठहर छ। यसले समग्र सूचनाप्रवाहमा अवरोध सिर्जना गर्नुका साथै प्रेस स्वतन्त्रता, डिजिटल समावेशिता र सुशासनमाथि प्रश्न खडा गराएको उल्लेख छ ।
विरोध जनाउने संस्थाहरूमा डिजिटल राइट्स नेपाल, फ्रिडम फोरम, एम्नेस्टी इन्टरनेसनल नेपाल, डिजिटल मिडिया फाउन्डेसन, एड्भोकेसी फोरम नेपाल, वूमन लिडर्स इन टेक्नोलोजी, नेपाल इन्टरनेट फाउन्डेसन, ओपन इन्टरनेट नेपाल, बडी एन्ड डाटा, युवालय, मेरोअड्डा, मिडिया एक्सन नेपाल, एकाउन्टविलिटी ल्याब नेपाल, चाइल्डसेफनेट, मिडिया कुराकानी, अनलाइन टिभी पत्रकार संघ, स्पीकअप नेपाल, युवालय, इन्टरनेट सोसाइटी नेपाल लगायत रहेका छन्।