अदालतले टेरामक्स प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
आईतबार विशेष अदालतको तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेकको बयान लिँदै २५ लाख रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो ।
गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब बढीको बिगो दावीसहित मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएलगत्तै उनको सांसद पद निलम्बन भएको थियो ।
पूर्वमन्त्री बस्नेतले आफैंले विशेष अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएपछि बयानका लागि बोलाइएको थियो।
बस्नेतको तर्फबाट ११ जना वकिलहरुले बहस गरेका थिए भने अख्तियारको तर्फबाट ६ जना सरकारी वकिलहरुले बहस गरेका थिए।