मेटा अहिले इन्स्टाग्राममा नयाँ एआई–जनरेटेड कमेन्ट फिचरको परीक्षण गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूलाई पोस्टमा कमेन्ट गर्न एआई–सुझावहरू प्रदान गरिनेछ ।
सोसल मिडिया फिचर टेस्ट गर्ने जोना मान्जानोले हालै इन्स्टाग्राममा “राईट विथ मेटा एआई“ नामक प्रम्प्ट देखेका थिए । यसबाट अब प्रयोगकर्ताहरूले एआई–जनरेटेड कमेन्टहरू सजिलै पोस्ट गर्न सक्ने सम्भावना देखिएको छ ।
यद्यपि, यस फिचरले केही प्रयोगकर्ताहरूबीच एआईको बढ्दो प्रभावप्रति चिन्ता पनि उत्पन्न गराएको छ । जोना मान्जानोले सेयर गरेको भिडियोअनुसार, यो फिचरको प्रयोगकर्ताहरूलाई कमेन्ट बक्स नजिकै एउटा पेन्सिल र सानो तारा आइकन देखिनेछ ।
जब प्रयोगकर्ताले यसमा ट्याप गर्छन्, मेटा एआई सक्रिय हुनेछ । एआईले पोस्टको इमेज एनालाइज गरेर तीन वटा कमेन्ट सुझाव दिनेछ ।
उदाहरणका लागि, यदि कुनै व्यक्ति आफ्नो लिभिङ रुममा मुस्कुराउँदै थम्ब्स अप दिँदैछ भने एआईले सुझाव दिन सक्छ—
- राम्रो लिभिङ रुम सेटअप ।
- माया लाग्दो कोजी वातावरण ।
- शानदार फोटोसुट लोकेसन ।
यदि प्रयोगकर्तालाई यी सुझावहरू मन परेन भने रिफ्रेस गरेर नयाँ सुझावहरू लिन सक्नेछन् । मेटाका प्रवक्ताले टेकक्रन्चलाई दिएको जानकारीअनुसार, यो एक प्रयोगात्मक फिचर हो, जसलाई कम्पनीले विभिन्न स्थानमा परीक्षण गरिरहेको छ ।
यसअघि डीएममा परीक्षण गरिएको मेटा एआई अब कमेण्ट, फिड, ग्रुप्स, सर्च लगायतका ठाउँहरूमा पनि उपलब्ध हुनेछ । मेटाले कति प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएका छन् भन्ने खुलाएको छैन् । यो परीक्षण फेसबुकमा गरिएको एआई–जनरेटेड कमेन्ट परीक्षण सँग मेल खान्छ ।
यो एआई–आधारित नयाँ फिचरले प्रयोगकर्ताहरूबीच अन्तरक्रिया बढाउने अपेक्षा गरिएको छ । तर, धेरै प्रयोगकर्ताहरू यसप्रति द्विविधामा छन् । कतिपयले एआईको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका छन् ।
इन्स्टाग्रामले यसअघि एआई–जनरेटेड तस्वीरहरू फिडमा देखाउन थालेपछि प्रयोगकर्ताहरूबीच असन्तुष्टि बढेको छ । प्रसिद्ध फोटोग्राफर पीट म्याककिननले त इंस्टाग्रामबाट लेट गो (छोड्ने) समय आइसकेको समेत बताएका छन् ।