प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैंले बनाउनुपर्ने प्रसङ्गमा यस्तो बताएका हुन्। उनले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।
“४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ। उद्योग स्थापनाका लगानी विस्तार गर्नुपर्छ।’
यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने सुझाए ।
केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको अवगत गराउँदै कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा भएको र आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ र यसले स्वागत पाएको बताए। रासस