कीवर्डहरू -

आईटी सेवा तथा प्रडक्ट निर्यात गर्ने कम्पनीबाट एक प्रतिशतमात्रै आयकर लिन महासंघको सुझाव

आईटी सेवा तथा प्रडक्ट निर्यात गर्ने कम्पनीबाट एक प्रतिशतमात्रै आयकर लिन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महांसघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सूचना प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिन सुझाव दिएको छ । 

महासंघले बिहीबार आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्व बजेट अन्तक्रियामा सूचना प्रविधि र स्टार्टअपको विकासमा अर्थमन्त्री पुनलाई विभिन्न सुझावहरू दिएको थियो ।  

सबै किसिमका एसेम्बलिङ्ग उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतिय सवारी साधनहरु (मोटरसाईकल, स्कुटर, रिक्सा, कार, जीप, भ्यान) को पार्टपुर्जा पैठारी गर्दा भन्सार महशुलमा ७५ प्रतिशत छुट र नेपालमा एसेम्बल हुने अन्य गाडीहरुमा भन्सार शुल्कमा ५० प्रतिशत छुट तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट हुनु पर्ने महासंघले जनाएको छ । 

यस्तै दूरसंचार र इन्टरनेट सेवा व्यवसायमा यसै बर्ष कर योग्य आयमा पच्चिस प्रतिशतका दरले कर लाग्ने व्यवस्था गर्न अनुरोध गरेको छ । 

यस बाहेक महासंघले नेपालमा नेपालमा सूचना प्रविधि र स्टार्टअपको विकास र प्रवर्द्धनका लागि निम्न सुझावहरू दिएको छ ।  

प्रविधिबाट समृद्धि कार्यक्रम

  • प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत सेवा व्यापार विस्तार र अन्य उद्योग व्यवसायको प्रमुख उत्प्रेरकका रुपमा विकास गर्नु आवश्यक छ ।
  • सूचना प्रविधिसंग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई पाँच वर्षसम्म एक प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गर्नु पर्दछ ।
  • प्रविधि सम्बद्ध विदेशी कम्पनीहरूलाई लगानी र रोजगारीको आधारमा थप सहुलियत दिइ आकर्षित गर्नु पर्दछ ।
  • प्राईभेट इक्विटी र भेन्चर क्यापिटलको व्यवसायलाई सामुहिक लगानी कोष सरहका कर तथा अन्य सुविधा प्रदान पर्दछ ।
  • प्रविधिको प्रयोग गरि उद्यमशीलता बढाउने पालिकाहरूलाई पुरष्कृत गर्नु पर्दछ ।
  • सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि सूचना प्रविधि सम्वद्ध शिक्षा अनिवार्य गर्नु पर्दछ ।
  • पहाडि क्षेत्रमा स्थापना हुने सूचना प्रविधि सम्वद्ध उद्योगलाई जग्गा, बिजुली र बाटोको सुविधा प्रदान गर्नु पर्दछ ।
  • सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि सम्वद्ध शिक्षालय स्थापना गर्न विदेशी उच्च शिक्षा प्रदायक संस्थासंग समन्वय गर्नु पर्दछ ।

स्टार्टअप नेपाल कार्यक्रम

  • निजी क्षेत्रद्वारा प्रवद्र्धित स्टार्टअप नेसन २०३० कार्यक्रम अन्तर्गत विशेष कार्यक्रम संचालन गर्नु पर्दछ ।
  • महासंघको पहलमा मस्यौदा तयार भएको स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिनुपर्छ ।
  • स्टार्टअप उद्यमलाई हाल प्रदान गरिएको पाँच बर्षसम्मको आयकर छुटलाई अर्को पाँच बर्ष पचास प्रतिशत छुट दिइनु पर्दछ ।
  • निजी क्षेत्रसंगको सहकार्यमा सबै प्रदेशमा ग्रोथ सेन्टर स्थापना गर्नु पर्दछ ।
  • यस आर्थिक बर्षभित्रमा कम्तिमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सय स्टार्टअप, सय लगानीकर्ता कार्यक्रम संचालन गरि निजी क्षेत्रसंग सहकार्य गर्नु पर्दछ ।
  • पच्चीस लाख रुपैयाँसम्मको स्टार्टअप परियोजना कर्जा तथा निक्षेप सुरक्षण निगम मार्फत गराई कर्जाको २० प्रतिशत रकम लगानीकर्ताले राखेमा बाँकि रकम बैंकले उपलब्ध गराउने व्यबस्था गर्नु पर्दछ ।
  • स्टार्टअप परियोजनामा ठूला उद्यमी वा प्राइभेट भेञ्चर क्यापिटलले लगानी गरेमा त्यस्तो लगानी गरिएको रकममा खर्च कटृी गर्ने सुविधा पाउनु पर्दछ ।
  • स्टार्टअप पोर्टल संचालन गरि सोही मार्फत व्यवसाय दर्ता, नविकरण र अन्य सहायता सम्बन्धि जानकारी लिन सकिने व्यवस्था गरिनु पर्दछ ।