आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वैश्विक प्रतिस्पर्धामा अब युरोप पनि ठूलो कदम चाल्न तयार भएको छ। जर्मनीको जूलिश सुपरकम्प्युटिङ सेन्टरमा युरोपको सबैभन्दा छिटो र पहिलो एक्सास्केल सुपरकम्प्युटर जुपिटर शुक्रबार सुरु गरिएको हो।
यस अवसरमा जर्मन चान्सलर फ्रेडरिक मर्जले भने कि यो सुपरकम्प्युटरले महादेशलाई अमेरिका र चीन जस्ता एआई अग्रणी देशहरूको बराबरीमा उभ्याउन सक्छ। जुपिटर सुपरकम्प्युटरलाई युरोपको पहिलो "एक्सास्केल" प्रणाली भनिएको छ, जसले हरेक सेकेन्डमा एक क्विन्टिलियन (१ अर्ब अर्ब) गणना गर्न सक्छ ।
यो हालका कुनै पनि जर्मन कम्प्युटरभन्दा करिब २० गुणा बढी शक्तिशाली छ। जुपिटर बनाउन र चलाउन करिब ५०० मिलियन युरो (५८० मिलियन डलर) खर्च हुनेछ, जसमा आधा पैसा युरोपेली संघ र बाँकी जर्मनीले दिनेछ।
यो सुपरकम्प्युटर करिब ३६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ र यसमा २४,००० चिप्स जडान गरिएको छ। यसलाई फ्रान्सको कम्पनी र जर्मन कम्पनी पारटेकले मिलेर बनाएका हुन्। तर चिप्समा निर्भरता देखाउँछ कि युरोप अझै आंशिक रूपमा अमेरिकी प्रविधिमा निर्भर छ।
स्ट्यानफोर्ड विश्वविद्यालयको रिपोर्टअनुसार, २०२४ मा अमेरिकाले ४० प्रमुख एआई मोडेल विकास गर्यो, चीनले १५ र युरोप केवल ३ मा सीमित रह्यो। यस्तो अवस्थामा जुपिटरको सुरुवातलाई युरोपका लागि ऐतिहासिक छलाङ मानिएको छ। चान्सलर मर्जले भने कि युरोप प्रतिस्पर्धी रहनका लागि “स्वाधीन कम्प्युटिङ क्षमता” हासिल गर्नु अति जरुरी छ।
जुपिटरको प्रयोग केवल एआई मोडेल बनाउन र तालिमसम्म सीमित रहने छैन। यसका माध्यमबाट जलवायु परिवर्तनको ३० देखि १०० वर्षसम्मको सटीक भविष्यवाणी गर्न सकिनेछ, जबकि अहिलेका प्रणालीले केवल १० वर्षसम्मको मात्र जानकारी दिन्छन्।
स्नायु विज्ञान अनुसन्धानमा यसलाई दिमागको प्रक्रियाहरूको अनुकरणका लागि प्रयोग गरिनेछ, जसले अल्जाइमर जस्ता रोगहरूको अनुसन्धानलाई तीव्र बनाउनेछ। त्यस्तै, यसलाई स्वच्छ ऊर्जाजस्तै पवन ऊर्जाका समाधानलाई अझ प्रभावकारी बनाउन पनि प्रयोग गरिनेछ।
जुपिटरलाई औसतमा ११ मेगावाट बिजुलीको आवश्यकता पर्छ, जुन हजारौँ घर वा एउटा सानो औद्योगिक संयन्त्रको खपत बराबर हो। तर, यसको सञ्चालनकर्ताहरूले भनेका छन् कि यो संसारका सबैभन्दा ऊर्जा-दक्ष सुपरकम्प्युटरमध्ये एक हो। यसमा अत्याधुनिक हार्डवेयर र पानी–चिस्याउने प्रणाली जडान गरिएको छ। यति मात्र होइन, जुपिटरबाट निस्कने अतिरिक्त तापलाई नजिकैका भवनहरू तताउन समेत प्रयोग गरिनेछ।