नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटान सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा उद्धाट्न गरेका थिए ।
केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि, र तालिम प्रदान गर्नेछ । साथै, उद्यमीहरूलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, र व्यवसाय रणनीति सम्बन्धी सहायता पनि उपलब्ध गराउनेछ ।
केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनेछ । साथै, आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्नेछ । केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू, र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्नेछ ।
लघु, घरेलु, साना तथा मझौला उद्यम विकास केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन, र विपद व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ । यसले व्यवसाय सम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, कर सम्बन्धी जानकारी, र सरकारी नियमहरूको पालना गर्न सहयोग गर्नेछ।
केन्द्रले नयाँ व्यवसायिक अवसरहरूको पहिचान गर्न सहयोग गर्नेछ र उद्यमीहरूलाई नवप्रवर्तन गर्न, अनुसन्धान गर्न, र आफ्नो व्यवसायमा नवीनता तथा प्रतिस्पर्धात्मक लाभ ल्याउन प्रोत्साहित गर्नेछ । केन्द्रले लघु, साना, घरेलु, र मझौला उद्यमीहरूबीच नेटवर्किङ अवसर सिर्जना गरी अनुभव आदान–प्रदान, साझेदारी, र सहकार्यलाई प्रोत्साहन गर्नेछ ।