आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारमा जन्मिएका एक शरणार्थी युवाले बनाएका हुन् । ती युवाको नाम हो, जन कौम ।
जन कौम सन् १९७६ मा युक्रेनको यहूदी परिवारमा जन्मिएका हुन् । घरको एक्लो सन्तान रहेका उनका बुबा निर्माण व्यवस्थापक र आमा गृहिणी थिइन् । तत्कालीन सोभियत संघबाट विभिन्न कठिनाइ सामान गरेको उनका आमा–बुबाले फोनमा बोल्न पनि डर मान्थे । किनकी सरकारको फोन सुन्ने सम्भावना थियो ।
सन् १९९१ मा सोभियत संघ पतन भएसँगै जन र उनकी आमा अमेरिकाको क्यालिफोर्नियाको माउन्टेन भ्यूमा बसाइ सरे । त्यसपछि उनीहरूले अनेक आर्थिक कठिनाइसँग जुध्नु पर्यो । त्यो बेला जनले परिवारको गुजारा चलाउन सुपरमार्केटमा सफाई कर्मचारीको रूपमा काम गर्न थालेका थिए ।
उनीहरूले सरकारबाट प्राप्त सहयोगको आधारमा आफ्नो जीवन धान्नुपर्ने अवस्था थियो । केही समय पछि जनकी आमालाई क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि त झनै कस्टकर जीवन झेल्नु परेको थियो । आमा छोरा फुड कुपन र आमाको असक्षमता बीमा (डिसआबिलिटी इन्सुरेन्स) को भरमा बाँच्नुपर्ने अवस्था थियो ।
चुनौतीहरू आएपनि जनलाई १८ वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङप्रति रूची जाग्न थालिसकेको थियो । उनले म्यानुअलहरूबाट कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । प्रोग्रामिङ सिक्दै गर्दा उनी स्यान जोसे विश्वविद्यालयमा भर्ना भए र पहिलो वर्षमा अर्न्स्ट एन्ड यङ कम्पनीमा सुरक्षा परीक्षकको रूपमा काम गर्ने अवसर प्राप्त गरे ।
त्यसपछि थप अनुभव लिन उनी उउ नामको कम्प्युटर सुरक्षा समूहमा पनि काम गर्न थालेका थिए । यही समयमा जनको भेट ब्रायन एक्टनसँग हुन्छ । सन् १९९७ मा जनले याहूमा जागिर पाए । जागिर पाएपछि पढाइ छोडे । यहीक्रममा उनले ब्रायनसँग नौ वर्षसम्म याहूमा काम गरेका थिए ।
तर, सन् २००९ मा, दुवैले याहुको जागिर छोडेर एउटा स्टार्टअपमा काम गर्ने निर्णय लिए र ह्वाट्सएपलाई अगाडि बढाए ।
ह्वाट्सएपको उदय
प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिने र विज्ञापन तथा डेटा कमाईको माध्यम नबनाउने जन र ब्रायनको लक्ष्य थियो । सजिलैसँग परिवार र साथीहरूसँग सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सक्ने प्लेटफर्म बनाउनु उनीहरूको एकमात्र उद्देश्य थियो ।
त्यसैको उपज हो, आजको ह्वाट्सएप, जुन अर्बौ प्रयोगकर्ताको दैनिकी बनेको छ । सूचना आदान प्रदानमा सहजता थपेको छ । यसमा प्रयोगकर्ताको संवादलाई सुरक्षित बनाउन एण्ड–टू–एण्ड इन्क्रिप्सन प्रयोग गरिएको छ ।
आफु पूर्ण निगरानीयुक्त देशमा हुर्किएकाले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिएर ह्वाट्सएप डिजाइन गरिएको जन बताउँछन् ।
‘म यस्तो समाजमा हुर्कें जहाँ तपाईले गरेका सबै कुरा निगरानी गरिन्थ्यो, रेकर्ड गरिन्थ्यो, अरूले बताएर झुटो आरोप लगाउँथे,’ उनले भने, ‘फोनमा बोल्दा सरकारले सुनिरहेको छ कि भन्ने त्रास हुन्थ्यो । गोपनीयताको हक कति महत्वपूर्ण हुन्छ भन्ने बारे मलाई मात्रै थाहा छ ।’
ह्वाट्सएप नाम अमेरिकामा प्रचलित एक शब्दबाट राखिएको हो, जुन ‘What's Up?’ भन्ने वाक्यांशको खेल हो । ह्वाट्सएप पहिलो संस्करणका रूपमा एप स्टोरमा उपलब्ध भएको थियो । तर बिडम्बना, पहिलो संस्करणले मानिसहरूको ध्यान आकर्षित गर्न सकेन र यसमा धेरै त्रुटिहरू देखिए ।
आफुले मिहेत गरेर तयार गरेको सफ्टवेयरमा आकर्षन कम देखिएपछि जन कौम निराश भएका थिए । परियोजना नै छोडेन सोच आएको थियो । एक्टनले उनलाई त्यस्तो गर्न दिएनन् । ‘यदि तिमी अहिले हार मान्यौ भने, त्यो मूर्खता र असमर्थता हुनेछ । आफूलाई बुझाउ, अझै प्रयास गर,’ एक्टनले भने ।
अनि जन कौमले पहिले देखिएका त्रुटिहरूलाई सुधार गरेर अर्को संस्करण ल्याए र ह्वाट्सएप म्यासेन्जर बन्यो । आईफोन र ब्लयाकबेरी फोनहरूका लागि अन्य संस्करणहरू पनि तयार गरिएको थियो ।
कौमले ह्वाट्सएपलाई विज्ञापनरहित प्लेटफर्म रहन दिने पनि प्रतिज्ञा पनि गरेका छन् । उनी भन्छन्, ‘सामाजिक सञ्जाल र साइटहरूमा प्रयोगकर्ताहरूको जानकारी संकलन गर्नुको कारण भनेको कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूका बारेमा सही र भरपर्दो तथ्यांक प्राप्त गरी तिनीहरूलाई मनपर्ने विज्ञापनहरू पठाउनु हो । तर, ह्वाट्सएप विज्ञापनबाट टाढा रहेको छ, त्यसैले यसले प्रयोगकर्ताहरूको जानकारी अन्य कम्पनीहरूलाई दिने आवश्यक ठान्दैन, जसले यसको प्रयोगकर्ताहरूको सुरक्षा बढाउँछ ।’
ह्वाट्सएप विश्वभर लोकप्रिय बन्दै थियो । त्यसैक्रममा सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब अमेरिकी डलरमा खरिद गर्यो । अहिले जन कौमसँग ह्वाट्सएपको ४५ प्रतिशत शेयर छ । कुनै बेला गुजारा चलाउन संघर्ष गरेका जन आज अर्बपति छन् । धेरैको प्रेरणाको स्रोत पनि बनेका छन् ।