कीवर्डहरू -

सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती आबद्ध, डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर

सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती आबद्ध, डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना  प्रयोगकर्ताका लागि  सहभागिताको व्यवस्था मिलाएको छ । यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वत: दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन् ।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु. १० लाख प्राप्त गर्नेछन् । खल्तीमार्फत गरिएको योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वत: पुग्नेछ ।

उपहार कुपन स्वत: सिर्जना हुने र त्यसलाई खल्ती एपमार्फत हेर्न समेत सकिने भएकाले कार्यक्रममा सहभागिता थप सहज हुनेछ । विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराउनेछ । खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई खल्तीले समेत विभिन्न माध्यममार्फत जानकारी प्रदान गर्नेछ ।

सरकारको यस पहलमा सहभागी हुँदै खल्तीले बिलमा आधारित कारोबारको अभ्यासलाई विस्तार गर्न तथा डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ । यसबाट कारोबारको अभिलेखीकरण सहज भई औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीको सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो, “सरकारको यस महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा हामी उत्साहित छौँ ।

सरकारी प्राथमिकतासँग सहकार्य गर्नु, वित्तीय पारदर्शिता प्रवर्द्धन गर्नु र डिजिटल अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यसूचीमा जिम्मेवार योगदान दिनु हाम्रो प्रतिबद्धता हो । सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ ।”