काठमाडौं । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका सरकारी वेबसाइटहरू चार दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । साइबर सुरक्षालाई ध्यानमा राख्दै सरकारले वेबसाइटहरू अस्थायी रूपमा बन्द गरे पनि सेवा पुनः सञ्चालनमा ढिलाइ हुँदा अनलाइन सेवाग्राही प्रभावित भएका छन् ।
पीएचपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका थिए । तर, तीमध्ये अधिकांश संस्थाले सुरक्षा समस्या समाधान गरी सेवा पुन: सञ्चालनमा ल्याइसकेका छन् ।
निजी क्षेत्रका कम्पनीहरूले समेत वेबसाइट सञ्चालनमा ल्याइसक्दा सरकारी निकायका वेबसाइट भने अझै बन्द छन् । यसले सरकारी सेवा अनलाइनमार्फत प्राप्त गर्ने नागरिकलाई असुविधा भएको छ ।
विशेष गरी राहदानी विभाग, यातायात व्यवस्था विभाग, राजस्व अनुसन्धान विभागको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस), नेपाल राष्ट्र बैंक तथा भूमि व्यवस्था तथा अभिलेख विभागका वेबसाइट नखुल्दा सम्बन्धित सेवा लिनेहरू प्रभावित भएका छन् ।
त्यस्तै, कालीमाटी तरकारी बजारको वेबसाइट समेत सञ्चालनमा छैन । सरकारी वेबसाइटहरू लामो समयसम्म बन्द रहँदा अनलाइनबाट सूचना प्राप्त गर्ने, विवरण हेर्ने तथा विभिन्न सेवा लिने काममा अवरोध सिर्जना भएको छ ।
बैंक तथा वित्तीय संस्थाले सुरक्षा समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याइसकेको अवस्थामा सरकारी वेबसाइटहरू कहिलेदेखि खुल्छन् भन्ने विषय भने अझै अन्योलमा छ ।
आईसीटी समाचार