कीवर्डहरू -

सरकारले सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्ने

सरकारले सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्ने

सरकारले सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियस्तरको सूचना प्रविधि तालिम केन्द्र रहने प्रस्ताव गरेको हो । 

केन्द्रबाट सूचना प्रविधि क्षेत्रका साईबर सुरक्षा, सुरक्षा परीक्षण, डाटावेस, हार्डवेयर, नेटवर्क, प्रोग्रामिङ्ग, सफ्टवेयर, वेभ एप्लिकेशन, मोबाईल एप्लिकेशन, सर्भर व्यवस्थापन, क्लाउड सेवा सञ्चालन, साईबर फरेन्सिक, डाटा सेन्टर, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ्ग, क्वालिटी एसुरेन्स, सूचना प्रविधि व्यवस्थापन लगायतका नवीनतम प्रविधि सम्बन्धी तालिम, अध्ययन तथा अनुसन्धान र यस क्षेत्रसँग सम्बन्धित जनशक्तिको दक्षता अभिवृद्धि गरिने छ । 

सूचना प्रविधि तालिम केन्द्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ । केन्द्रको प्रमुखको रूपमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत रहने छन् । 

केन्द्रले सूचना प्रविधि सम्बन्धी सेवाकालीन तालिम सञ्चालन गर्ने, सूचना प्रविधि सम्बन्धी नवीनतम क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधि सम्बन्धी सबै किसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने गराउने र नेपाल सरकारले तोकेका सूचना प्रविधि सम्बन्धी अन्य कार्यहरु गर्ने छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि आगामी १५ दिनभित्र [email protected] मा राय सुझाव इमेल गर्न अनुरोध गरेको छ ।

सूचना प्रविधिको विकास, प्रबर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा साइबर स्पेसमा सङ्कलित, सङ्ग्रहित, प्रशोधित, प्रकाशित वा प्रसारित सूचना, तथ्याङ्क एवम् सूचना तथा सञ्चार प्रविधि प्रणालीको गोपनीयता, अखण्डता, उपलब्धता, प्रमाणिकता र आधिकारिकता कायम राख, संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा सुरक्षा गर्न, सूचना प्रविधि तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन गर्न, अनुसन्धान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न सरकारले नयाँ विधेयकको मस्यौदा तयार पारेको हो । 

यस्तो छ विधेयकको मस्यौदा