कीवर्डहरू -

एआईको प्रभाव: आयरल्यान्डमा युवाहरूको एन्ट्री-लेवल रोजगारी २० प्रतिशतले कम

एआईको प्रभाव: आयरल्यान्डमा युवाहरूको एन्ट्री-लेवल रोजगारी २० प्रतिशतले कम

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण एंट्री-लेवल रोजगारीमा उल्लेख्य असर देखिन थालेको छ। कम्पनीहरूले फरक–फरक दाबी गरे पनि यसको सबैभन्दा ठूलो प्रभाव युवाहरूमा परेको देखिएको छ।

आयरल्यान्डको वित्त विभागको नयाँ रिपोर्टअनुसार देशका करिब ६३ प्रतिशत रोजगारी एआईको प्रभाव क्षेत्रमा पर्छन्। विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवाहरू बढी प्रभावित भएका छन्। सन् २०२३ देखि २०२५ को बीच टेक क्षेत्रमा युवाहरूको रोजगारी २० प्रतिशतले घटेको छ। यसको विपरीत, ३० देखि ५९ वर्ष उमेर समूहका कर्मचारीहरूको रोजगार सोही अवधिमा १२ प्रतिशतले बढेको छ।

फाइनान्स, टेक, सूचना र सञ्चार जस्ता ‘हाइ-रिस्क’ क्षेत्रहरूमा युवाहरूको रोजगारी १ प्रतिशतले घटेको छ, जबकि ती क्षेत्रहरूमा समग्र रोजगारी वृद्धि भने जारी रहेको छ। यसले कम्पनीहरूले नयाँ भर्ती घटाएको, विशेषगरी एंट्री-लेवल पदहरूमा अवसर कम गरेको संकेत गर्छ।

रिपोर्टअनुसार सन् २०२३–२०२५ को बीच फाइनान्सियल सर्भिसेज र टेक जस्ता एआई-हाइ-रिस्क क्षेत्रमा रोजगारी वृद्धिदर केवल ४ प्रतिशतमा सीमित रह्यो। रियल इस्टेट, इन्स्योरेन्स, लिगल, अकाउन्टिङ, डिफेन्स र रिटेल क्षेत्रलाई पनि जोखिमयुक्त समूहमा राखिएको छ। यसको विपरीत, कन्स्ट्रक्सन र हेल्थकेयर जस्ता लो-रिस्क क्षेत्रमा ६ दशमलव २५ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ।

करीब ५३ लाख जनसंख्या भएको आयरल्यान्डमा धेरै अन्तर्राष्ट्रिय टेक र बैंकिङ कम्पनीहरूको हेडक्वार्टर रहेका छन्। नोभेम्बर २०२५ मा इन्डिडमा पोस्ट गरिएका ११ प्रतिशतभन्दा बढी रोजगारी विज्ञापनमा एआई सम्बन्धी शब्दहरू समावेश थिए, जुन अमेरिका र युरोपको तुलनामा करिब तीन गुणा बढी हो।

रिपोर्टले स्पष्ट पारेको छ कि एआईका कारण ठूलो स्तरमा विद्यमान कर्मचारीहरूको छँटनी भएको छैन। बरु नयाँ भर्ती र एंट्री-लेवल अवसरहरूमा कमी आएको छ।

आयरल्यान्डमा युवाहरूको बेरोजगारी दर करिब १२ प्रतिशत पुगेको छ र सन् २०२४ को तेस्रो त्रैमासिकदेखि यो दर निरन्तर बढ्दो क्रममा रहेको छ। यद्यपि आयरल्यान्ड युरोपियन युनियनमा प्रति व्यक्ति सबैभन्दा बढी एसटीईएम ग्रेजुएट्स उत्पादन गर्ने देशका रूपमा चिनिन्छ र एआई ट्यालेन्टका लागि पनि परिचित छ, तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिले पारम्परिक करियर मार्गहरू अस्थिर बनाइरहेको छ।

स्ट्यानफोर्ड इन्स्टिच्युट फर इकोनोमिक पोलिसी रिसर्चको एक अध्ययनअनुसार अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका युवाहरूमा एआई-एक्सपोज्ड रोजगारी १६ प्रतिशतले घटेको पाइएको छ।

माइक्रोसफ्टका एआई प्रमुख मुस्तफा सुलेमानले हालै कम्प्युटरमा आधारित धेरैजसो ह्वाइट-कलर कामहरू आगामी १८ महिनाभित्र अटोमेट हुन सक्ने बताएका छन्।

यसैगरी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो आमोडेईले आगामी पाँच वर्षभित्र एंट्री-लेवल ह्वाइट-कलर रोजगारीको करिब आधा हिस्सा समाप्त हुन सक्ने चेतावनी दिएका छन्।