युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि लाइभ स्ट्रिमिङ गर्न आवश्यक न्यूनतम उमेर १६ वर्ष पुर्याउने निर्णय गरेको छ । युट्युब हेल्प सपोर्ट पेजमा सार्वजनिक गरिएको सूचनाअनुसार, आगामी जुलाई २२ देखि १६ वर्ष उमेरभन्दा कमका प्रयोगकर्ताहरूले बयस्कको साथबिना लाइभ स्ट्रिम गर्न नपाउने भएका छन् ।
यसअघि १३ वर्षभन्दा कम उमेरका बालबालिकाले लाइभ स्ट्रिम गर्न चाहेमा उनीहरूलाई स्पष्ट रूपमा बयस्कको साथमा देखिनु पर्ने थियो । तर अब यो नियम १३ देखि १५ वर्ष उमेर समूहमा पनि लागू हुनेछ ।
१६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूले यदि बिना बयस्कको साथमा लाइभ स्ट्रिम गर्न खोजेमा, तिनीहरूको लाइभ च्याट बन्द गरिने, साथै केही विशेष सुविधाहरू अस्थायी रूपमा हटाइने युट्युबले चेतावनी दिएको छ । यदि नियम उल्लंघन गरिएमा युट्युब ले लाइभ स्ट्रिम हटाउने, र यस्तो खाता प्रयोग गरेर पुन: अर्को च्यानलबाट स्ट्रिम गरे खाता नै बन्द गर्नेसम्मको कारवाही गर्न सक्ने उल्लेख गरेको छ।
१६ वर्षभन्दा कम उमेरका क्रिएटरहरूले यदि लाइभ स्ट्रिमिङ गर्न चाहन्छन् भने उनीहरूले बयस्कलाई आफ्नो च्यानलमा एडिटर, म्यानेजर वा ओनरको अधिकार दिन सक्नेछन्। यस्तो अवस्थामा बयस्कले च्यानलसँग जोडिएको खाताबाट स्ट्रिम सुरु गर्न सक्नेछन् । पहिले भने यस्तो प्रक्रिया युट्युबको लाइभ कन्ट्रोल रूममार्फत मात्र सम्भव थियो।
यदि बयस्क र कम उमेरका क्रिएटर मिलेर स्ट्रिम गरिरहेका छन् भने, बयस्क व्यक्ति स्पष्ट रूपमा भिडियोमा उपस्थित हुनुपर्ने र लाइभ स्ट्रिमको हिस्सा देखिनुपर्ने छ ।