कीवर्डहरू -

गुगल म्याप्समा फेरियो लेक ओन्टारियोको नाम, अमेरिकामा देखियो ‘लेक अमेरिका’

गुगल म्याप्समा फेरियो लेक ओन्टारियोको नाम, अमेरिकामा देखियो ‘लेक अमेरिका’

काठमाडौं । गुगल म्याप्सले अमेरिकाका प्रयोगकर्ताका लागि लेक ओन्टारियोलाई ‘लेक अमेरिका’ नामबाट देखाउन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त तालको नाम परिवर्तन गर्न आदेश दिएपछि गुगलले म्याप्समा नयाँ नाम प्रयोग गरेको हो ।

गुगलका अनुसार अमेरिकाको आधिकारिक भौगोलिक नामसम्बन्धी प्रणाली ‘जियोग्राफिक नेम्स इन्फर्मेसन सिस्टम’ (GNIS) मा नयाँ नाम दर्ता भइसकेपछि त्यसैअनुसार म्याप्समा परिवर्तन गरिएको हो ।

नाम परिवर्तनको प्रभाव भने प्रयोगकर्ताको स्थानअनुसार फरक हुनेछ । अमेरिकामा रहेका प्रयोगकर्ताले ताललाई ‘लेक अमेरिका’ नाममा देख्नेछन् भने क्यानडाका प्रयोगकर्ताका लागि पुरानै ‘लेक ओन्टारियो’ नाम कायम रहनेछ । अन्य देशबाट गुगल म्याप्स प्रयोग गर्नेहरूले भने दुवै नाम देख्न सक्नेछन् ।

लेक ओन्टारियोको पश्चिम, उत्तर र दक्षिणपश्चिमतर्फ क्यानडाको ओन्टारियो प्रान्त तथा दक्षिण र पूर्वतर्फ अमेरिकाको न्यूयोर्क राज्य अवस्थित छ । नाम परिवर्तनको निर्णयप्रति क्यानडाले भने असन्तुष्टि जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ओन्टारियो नाम चार सय वर्षभन्दा पुरानो रहेको उल्लेख गर्दै निर्णयको आलोचना गरेका छन् । उनका अनुसार यो नाम वेन्डाट समुदायको भाषाबाट आएको हो ।

ट्रम्प प्रशासनले यसअघि पनि भौगोलिक नाम परिवर्तनको निर्णय गरेको थियो । सन् २०२५ मा ट्रम्पले ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ राख्ने आदेश दिएका थिए । गुगलले हाल उक्त क्षेत्रलाई ‘गल्फ अफ मेक्सिको’ नामबाट देखाइरहेको छ ।

लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी निर्णय अमेरिका र क्यानडाबीच व्यापारिक तनाव पुन: बढिरहेको समयमा आएको हो । अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा उच्च शुल्क लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा जवाफी शुल्क लगाएको छ ।