ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९ देखि ११ गते (जुलाई २५–२७) सम्म सफलतापूर्वक सम्पन्न भएको छ । डीएभी कलेजको आईटी क्लब कग्निटोले आयोजना गरेको उक्त ह्याकाथनमा देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कोडफेस्टको उद्देश्य विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमताको विकास तथा टोलीमा सहकार्य गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ ।
कार्यक्रममा सहभागी टोलीहरूले ४८ घण्टे कोडिङ प्रतिस्पर्धामा शिक्षा, साइबर सुरक्षा, व्यवसाय प्रविधि, स्वास्थ्य, र सामाजिक प्रभावजस्ता विविध क्षेत्रमा आधारित समस्याहरूको समाधानको प्रयास गर्दै आफ्ना प्रोटोटाइप र आइडिया प्रस्तुत गरेका थिए ।
ह्याकाथनका लागि ४० टिमले दर्ता गरे पनि २३ वटा टिम मात्रै ४८ घण्टे ह्याकाथनमा सहभागी भएका थिए । प्रतियोगिता तीन चरणमा सम्पन्न भएको थियो— पहिलो चरणमा टोलीहरूले आफ्नो आइडिया पिच गरेर छनोट भएका थिए, दोस्रो चरणमा लगातार ४८ घण्टा कोडिङ, र अन्तिम दिन प्रोजेक्ट प्रस्तुति तथा मूल्यांकन गरिएको थियो ।
अन्तिम दिन निर्णायक मण्डलले टोलीहरूको नवप्रवर्तन क्षमता, प्रविधिको प्रयोग, डिजाइन र प्रस्तुतिको आधारमा विजेताहरूको घोषणा गरेका थिए ।
ह्याकाथनमा वेदास कलेजको टिम ‘सेजिया’ प्रथम, सनवे कलेजको टिम न्यरोनोड दोस्रो तथा वीरगञ्ज पब्लिक कलेज र पद्मकन्या बहुमुखी क्याम्पसको टिम वारनेट तेस्रो भएका छन् । विजेतालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार बाहेक अन्य पुरस्कार समेत प्रदान गरिएको छ ।
यस्तै किङ्ग्स कलेजको टिम मेडुलाले चेयरमेन च्वाइस अवार्ड र इङ्गलिस्टन कलेजको टिम रेडियन्टले मेन्टर च्वाइस जित्न सफल भएको छ ।
सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । डीएभी कोडफेस्ट २०२५ ले युवाहरूको प्रतिभालाई राष्ट्रिय स्तरमा प्रस्तुत हुने अवसर दिएको बताइएको छ । आगामी वर्षहरूमा यसलाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनाउने प्रतिबद्धाता गरिएको छ ।