कीवर्डहरू -

एआईमा आधारित भर्चुअल सहायक सिरीको नयाँ संस्करण आउन ढिला हुने

एआईमा आधारित भर्चुअल सहायक सिरीको नयाँ संस्करण आउन ढिला हुने

प्रविधि कम्पनी एप्पलले तयार पारिरहेको एआईमा आधारित भर्चुअल सहायक सिरीको नयाँ संस्करण यस वर्ष पूर्ण रूपमा सार्वजनिक नहुने संकेत देखिएको छ। 

ब्लुमबर्गका पत्रकार मार्क गुर्मनका अनुसार परीक्षणका क्रममा सफ्टवेयरमा समस्या भेटिएपछि कम्पनीले यसको रिलिज योजना परिवर्तन गरेको हो।

परीक्षणमा सहायकले काम पूरा गर्न धेरै समय लिने, कहिलेकाहीँ प्रयोगकर्ताको आदेश नै ठीकसँग प्रशोधन नगर्ने र अत्यधिक सुस्त हुने समस्या देखिएको बताइएको छ। 

यस कारण कम्पनीले मार्चमै पूर्ण रूपमा सार्वजनिक गर्ने पूर्वयोजना स्थगित गर्दै आगामी सफ्टवेयर अपडेटहरूमार्फत चरणबद्ध रूपमा फिचरहरू ल्याउने निर्णय गरेको हो।

एप्पलले सन् २०२४ मै नयाँ सिरी सार्वजनिक गर्दै फोटो खोज्ने, सम्पर्क विवरण थप्ने, फोटो सम्पादन गर्ने तथा नोटको सारांश इमेलमार्फत पठाउनेजस्ता एआई क्षमताहरू हुने वाचा गरेको थियो। 

सुरूमा सन् २०२५ मा आईओएस प्रयोगकर्तामा आउने भनिए पनि कम्पनीले पछि ढिलाइ हुने जनाएको थियो। नयाँ जानकारीअनुसार केही फिचरहरू आईओएस २६.४ मा थप फिचरहरू आईओएस २६.५ र वर्षको अन्त्यतिर आईओएस २७ मा आउने अपेक्षा गरिएको छ।

यस वर्ष जनवरीमा एप्पलले नयाँ सिरी सञ्चालनमा गूगलको जेमिनी मोडेल प्रयोग हुने पुष्टि गरेको थियो। कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई अझ उन्नत अनुभव दिनेछ।

नयाँ संस्करण सार्वजनिक भएपछि सिरीले च्याटजीपीटी जस्तै एआई च्याटबोटको व्यवहार गर्ने र दैनिक कामहरू स्वचालित रूपमा सम्पन्न गर्ने अपेक्षा गरिएको छ।