कीवर्डहरू -

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री डा. तिमिल्सिना

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उल्लेख गर्नुभयो । उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुने पत्रकारितालाई समेत राज्यले प्राथमिकताका साथ हेर्ने बताउनुभयो ।

भेटका क्रममा साहित्यिक पत्रकार सङ्घले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउनुपर्ने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेटिनुपर्ने र पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गर्नुपर्ने सुझाव दिएको छ ।

सङ्घले साहित्यिक पत्रकारिताको विकास र प्रवद्र्धनका लागि राज्य र सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएको छ ।