काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उद्योग ४.० को भूमिकाबारे छलफल गर्न पहिलो ‘AI & Industry 4.0 / Society 5.0 Network’ डिस्कसन सिरिज आयोजना हुने भएको छ ।
‘Industry 4.0 and Its Relevance to Nepal’s Industrial Sector Development: Integrating AI as an Essential Driver’ विषयमा हुने कार्यक्रम आगामी अक्टोबर ४, २०२६ (आइतबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT), नेपालमा आयोजना हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य आर.के. दाहालले दिने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग ४.०, एआई र नेपालको औद्योगिक रूपान्तरणबारे इन्जिनियर गणेश शाहले मुख्य मन्तव्य दिनेछन् । त्यसपछि इन्जिनियर अक्षित राज पौड्याल र इन्जिनियर सुशान्त राज गिरीले ‘Industry 4.0 and AI: Transforming Nepal’s Industrial Sector’ विषयमा प्रस्तुति दिनेछन् ।
कार्यक्रमको दोस्रो चरणमा सहभागीहरूबीच खुला छलफल तथा अन्तरक्रिया हुनेछ । छलफलमा नेपाली उद्योगको उद्योग ४.० तथा एआई तयारी, स्मार्ट म्यानुफ्याक्चरिङ, स्वचालन तथा डिजिटलाइजेसन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तनलगायत विषय समेटिनेछन् ।
त्यस्तै, उद्योगमा एआईका सम्भावित प्रयोग, नयाँ व्यावसायिक मोडल, दक्ष जनशक्ति तथा संस्थागत तयारी र प्रविधि अपनाउन देखिएका चुनौती तथा अवसरबारे पनि छलफल हुने जनाइएको छ । औद्योगिक रूपान्तरणका लागि Smart Industry Readiness Index (SIRI) लाई सम्भावित ढाँचाका रूपमा समेत छलफलमा समेटिनेछ ।
कार्यक्रम केवल छलफलमा सीमित नराखी नेपालको औद्योगिक क्षेत्रमा एआईमा आधारित उद्योग ४.० रूपान्तरणका लागि व्यावहारिक अवसर, प्राथमिक क्षेत्र र सम्भावित सहकार्य पहिचान गर्ने उद्देश्य राखिएको छ ।
आईसीटी समाचार