कीवर्डहरू -

एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्योः मुख्यमन्त्री जोखबहादुर महरा

एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्योः मुख्यमन्त्री जोखबहादुर महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इञ्जिनियरिङ कलेजले शनिबार घोराहीमा आयोजना गरेको एआईद्वारा सञ्चालित सीप विकास र उदीयमान सञ्चार प्रविधिहरुको विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौ, घोराहीमा रहेको राप्ती ईञ्जिनियरिङ कलेज र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले आजको दुनियाँमा मानिसको दैनिक कार्यलाई सहज बनाउनका लागि प्रविधिको सहि सदुपयोग गर्नुपर्ने बताए । मानवले आविष्कार गरेको प्रविधिले मानवलाई नै अफ्ठेरो पार्न सक्ने भन्दै पछिल्लो समयमा बढीरहेको आत्महत्याका घटना प्रविधिको दुरुपयोगको उपज हुन सक्ने उनको भनाइ छ ।

मुख्यमन्त्री महराले पहिले सवैका लागि शिक्षा भनिएपनि अव गुणस्तरिय शिक्षा सवैका लागि भन्ने कार्यक्रम अनुसार अघि बढ्नुपर्ने भन्दै शिक्षालाई प्रविधिसंग जोड्न सकियो भने मात्रै गुणस्तरीय बन्न सक्ने जानकारी दिए । 

ज्ञानको प्रसार गर्नका लागि प्रविधिले भूमिका खेलेको भन्दै मुख्यमन्त्री महराले सरकारले प्रविधिलाई उच्च महत्व दिएको बताए । कार्यक्रमका मुख्य अतिथि रहेका महराले भने प्रविधिको प्रयोगले गर्दा मानव कार्य सहज र सरल बन्दै गई रहेको बर्तमान सन्दर्भमा एआईलाई जीवनको अभिन्न अंगको रुपमा प्रयोग गर्न सबैलाई अपिल गरेका थिए । 

एआईको प्रयोगकोलाई राज्यले नियमन गर्नको आवश्यक नीति र नियम बन्नु पर्ने कुरामा मुख्यमन्त्री महराले जोड दिए । साथै उनले यस कार्यमा लुम्बिनी प्रदेश सरकारको सहयोग रहने कुरा पनि बताए । 

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा एआईको पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा विषय विज्ञहरुबाट कार्यपत्रसहित छलफल गरिएको थियो । 

सम्मेलनमामा  लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले एआईसम्बन्धी मुख्य कार्यपत्र प्रस्तुत गरेका थिए । उनले एआई जीवनमा  अपरिहार्य भइसकेको बताए  । साथै उनले  हरेक मानिसले चाहेर वा नचाहेर एआईको प्रयोग गरिरहेको जानकारी दिए  । 

यसैगरी राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा शैलेन्द्र गिरीले सीप विकास र सिकाईको थलो एआई बनिरहेको सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । साथै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक ईन्जिनियर चिन्तामणि बरालले बढ्दो एआईको प्रयोग, शिक्षा र प्रविधिको प्रयोग गरेर गुणस्तरिय शिक्षा प्रयोग गर्ने बारेमा कार्यपत्र प्रस्तुत गरे ।

यसैगरी पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाकाबाट डा चिरञ्जीवी शाहले उच्च शिक्षामा आईको प्रयोग विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

साथै नेपाल टेलिकमका ईन्जिनियर कविराज यादवले उदयमान एआई संचार प्रविधि विषयमा, डा रविन्द्र कोइराला, लेक्चर युनिभरसिटी अफ दि वेष्ट स्कटल्यण्ड बेलायतबाट उदयमान शैक्षिक प्रविधिहरु विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । यसैगरी हेमन्त बस्नेत लगायत विषय विज्ञहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्राविधिक शिक्षालय लुम्विनी प्रदेशका प्रमुख यादव सुवेदी, क्यान दाङका पूर्व अध्यक्ष कर्णबहादुर पुन र दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठसंग प्यालन छलफल गरिएको थियो । छलफलको सहजिकरण राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा शैलेन्द्र गिरीले गरेका थिए ।

विभिन्न कलेजका विद्यार्थीहरु, सुचना अधिकारीहरु, सुरक्षा निकाय, वुद्धिजिवी, जन प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको सम्मेलनमा बोल्नेहरुले सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम वौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा प्रगति गर्न सक्ने सम्भावना रहेको बताएका थिए । एआईलाई कसरी रणनीतिक रुपमा प्रयोग गर्ने र यसको विकास र विस्तारमा राज्यलाई थप जिम्मेवार बनाउँदै लैजाने सवालमा सम्मेलनमा बोल्नेहरुले सुझाव दिएका थिए ।