कीवर्डहरू -

एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्

एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्

एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको हो । 

एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले कुनै पनि नम्बर रेन्जमा ओटीपी, म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या नरहेको बताए । ‘हरेक वर्ष बढिरहेको ओटीपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,’ मोहसिनले भने, ‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरु विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएका छन् ।’ 

साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

‘केही सर्ट–कोड संचालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरुलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौं,’ मोहसिनले भने । 

डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन् ।

यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरु सरकारी निकायहरु, अर्ध–सरकारी निकायहरु, बैंक तथा वित्तिय संस्थाहरु, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरु र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।