आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्ट छनोट गरिएको हो ।
प्रडक्ट आइसिटी अवार्ड, आईटी प्रडक्टहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा १ वर्षको अवधिमा विकास भएका आईटी प्रडक्टहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट
बिजफोर्स ३६०
बिजफोर्स ३६० फील्ड सेल्स अटोमेशन र सीआरएम प्लेटफर्म हो, जसले बिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ । यसमार्फत लिड, अर्डर, भुक्तानी, रुट, उपस्थिती लगायत कार्यहरू सहज रूपमा गर्न सकिन्छ ।
मोबाइल, डेस्कटप र वेबमार्फत पहुँचयोग्य यो प्लेटफर्म सबै आकारका व्यवसायका लागि उपयुक्त रहेको बताइएको छ । यसले बिक्री दक्षता २५० प्रतिशतसम्म बढाउने दाबी गरिएको छ ।
कस्टक्यु
स्टार्टअप, साना तथा मध्यम व्यवसाय र ठूला कम्पनीहरूलाई एडब्लुएस खर्च कम गर्न मद्दत गर्ने प्रडक्ट हो, कस्टक्यु । विविध कारणबस धेरै व्यवसायहरूले एडब्लुएसमा अत्याधिक खर्च हुने समस्या भोगिरहेका छन् । यो समस्यालाई कस्टक्युले समाधान गर्छ ।
एआईमा आधारित कस्टक्युले विश्लेषण गर्दै खर्च जानकारी स्वचालित रूपमा दिने र छुट सुविधामार्फत कम्पनीहरूलाई कुनै अतिरिक्त खर्च बिना नै ४० प्रतिशतसम्म बचत गर्न सक्षम बनाउँछ ।
फिटफ्लो
जिम, फिटनेस स्टुडियो र वेलनेस सेन्टरहरूको लागि क्लाउड-आधारित एप हो, फिटफ्लो । यसमा सदस्यता व्यवस्थापन, एटेन्डेन्स, अनुकूलित प्याकेज, सूचना व्यवस्थापन जस्ता सुविधाहरू छन् ।
फिटफ्लोमा सदस्यहरूको प्रोग्रेस हेर्न सकिनुका साथै प्रशिक्षकले वर्कआउट प्लान र भिडियो समेत शेयर गर्न सक्छन् ।
जी कवच - डीडब्लुएम
जी कवच डीडब्लुएम डार्क वेब निगरानी गर्ने प्लेटफर्म हो, जसले व्यवसाय र व्यक्तिहरूलाई साइबर जोखिमबाट सुरक्षा प्रदान गर्छ ।
यसले लगातार डार्क वेब फोरम, मार्केटप्लेस र लुकेका नेटवर्कहरू स्क्यान गरेर लीक भएका क्रेडेन्सियल, डेटा ब्रीच र संवेदनशील सूचनाहरू पत्ता लगाउँछ । साथै प्रयोगकर्तालाई समयमै कदम चाल्न चेतावनी समेत दिन्छ ।
आयल्स प्लस
आयल्स तयारीलाई सरल, सहज र सस्तो बनाउने एआईमा आधारित प्लेटफर्म हो, आयल्स प्लस । यसले एआई स्पीकिङ मोक टेस्ट र राइटिङ मूल्यांकनमार्फत वास्तविक परीक्षा जस्तै वातावरणमा अभ्यास गर्ने अवसर दिन्छ ।
आयल्स प्लसले तत्काल ब्याण्ड स्कोर अनुमान र व्यक्तिगत फिडब्याक प्रदान गर्छ, जसले विद्यार्थीलाई आफ्ना कमजोरी चिन्न र सुधार गर्न सहयोग पुर्याउँछ ।
आईफाभेन्ड
आईफाभेन्ड नेपालकै पहिलो स्थानीय रूपमा निर्मित स्मार्ट भेन्डिङ समाधान हो, जसले हार्डवेयर र सफ्टवेयर एकीकृत गरी स्वचालित खुद्रा वितरण प्रणाली बनाउँछ। यसले अफिस, विद्यालय, अस्पताल, मल्ल र सार्वजनिक स्थानहरूमा २४ घण्टा उपलब्ध, सुरक्षित र नगदरहित (cashless) सेवा प्रदान गर्छ। यसले लामो लाइन, सीमित खुद्रा पहुँच र वितरणमा अवरोधको समस्या समाधान गर्छ।
लुङ्गटा ईकमर्स
अनलाइन बिजनेसहरूका लागि तयार गरिएको ईआरपी प्लेटफर्म हो, लुङ्गटा ईकमर्स । यसमा लेखा प्रणाली, इन्भेन्टरी व्यवस्थापन, सीआरएम, डेलिभरी, एचआर र पेरोल, बिक्री विश्लेषण र भुक्तानी प्रणाली जस्ता सुविधा एउटै स्थानमा उपलब्ध छन्।
यसले म्यानुअल काम घटाएर वास्तविक समयमै सम्पूर्ण व्यापारिक प्रक्रिया ट्र्याक गर्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
मिरागो
एआईमा आधारित भर्चुअल ट्राइ–अन प्लेटफर्म हो, मिरागो । यसले प्रयोगकर्तालाई अनलाइनबाट कपडा किन्नुअघि उक्त कपडा आफूमा कस्तो देखिन्छ भन्ने दृश्य प्रदान गर्छ । मिरागोले अनलाइन र अफलाइन किनमेलबीचको दूरी घटाउँदै अनिश्चितता घटाई फिर्ता दर कम गर्ने र प्रयोगकर्ता सन्तुष्टि बढाउने लक्ष्य राखेको छ ।
माई क्युआर
स्मार्ट क्युआरले तयार पारेको माई क्युआर समावेशी क्यूआर भुक्तानी पूर्वाधार हो, जसले बैंक, वालेट र सहकारीबीच अन्तरआवद्धत गराउँछ ।
हालका अधिकांश क्युआर प्रणालीहरू सीमित नेटवर्कमा मात्रै चल्छन् । यसले गर्दा सहकारी लगायतका लाखौं प्रयोगकर्ता सेवाबाट वञ्चित छन् ।
यो समस्यालाई समाधान गर्न माई क्युआरले वालेट, बैंक, सहकारी र व्यापारीहरूलाई एक आपसमा अन्तरआवद्ता गराएको छ, जसले गर्दा सबै प्लेटफर्मबीच तत्काल र सुरक्षित भुक्तानी गर्न सकिन्छ ।
क्विकसीसीए
क्विकसीसीए बैंकहरूको इनवार्ड चेक प्रोसेसिङलाई स्वचालित बनाउने प्रडक्ट हो । यसले ओसीआर/आईसीआर प्रविधि प्रयोग गरी चेक विवरण स्वतः निकाल्ने र प्रमाणीकरण गर्ने काम गर्छ ।
पुराना कोर बैंकिङ प्रणालीसँग पनि सजिलै एकीकृत हुने यस प्रणालीले समयको बचत गर्दै कार्यदक्षता बढाउने गर्ने बताइएको छ । यसले अन्य बैंकिङ प्रक्रियाका कागजातहरू पनि अटोमेट गर्न सक्छ ।
टुना डेरी ईआरपी
टुना डेरी ईआरपी क्लाउड–आधारित प्रणाली हो, जसले सानादेखि ठूला डेरी उद्योगसम्मको सम्पूर्ण प्रक्रियालाई डिजिटाइज गर्छ । यसले दूध संकलनदेखि उत्पादन, गुणस्तर परीक्षण, किसानको भुक्तानी, वितरण र लेखा प्रणालीसम्म एकीकृत रूपमा सञ्चालन गर्छ । यस प्रणालीले कार्यक्षमता बढाउने, विवाद घटाउने र नाफा वृद्धिमा सहयोग पुर्याउने दाबी गरिएको छ ।
वायुदृष्टि
वायुदृष्टि हावाको गुणस्तर मापन, पूर्वानुमान र शुद्धीकरणमा काम गरिरहेको प्रडक्ट हो । यसको सस्तो र स्केलेबल इन्डोर तथा आउटडोर मोनिटरिङ सिस्टमबाट PM2.5, PM10, CO₂, तापक्रम, आर्द्रता, हावाको गति र ओजोन जस्ता तत्वहरू मापन गर्न सकिन्छ ।
वायुदृष्टिले आफ्नो ड्यासबोर्ड र एपीआई सर्भिससमार्फत वास्तविक समयको डेटा, स्वास्थ्यमा पर्ने प्रभावको दृश्य र एआईमा आधारित पूर्वानुमान उपलब्ध गराउँदै आएको छ ।
आईसीटी समाचार