आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १२ स्टार्टअप छनोट गरिएको हो ।
स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।
यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप
आर्कबो टेक्नोलोजीज प्रा. लि.
आर्कबो टेक्नोलोजीज सन् २०२३ मा स्थापना भएको स्टार्टअप हो । कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस), अनलाइन एक्जामिनेसन सिस्टम र ट्रेनिङ म्यानेजमेन्ट जस्ता सिस्टम विकास गरेको छ ।
बीटुबी सास र सेवामा आधारित मोडेलमा सञ्चालन हुने आर्कबोले कर्पोरेट, बैंक, बीमा कम्पनी, व्यवसायिक समूह र अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि सब्सक्रिप्सन–आधारित प्लेटफर्म तथा कस्टम एन्टरप्राइज समाधान प्रदान पनि गर्छ । साथै, कम्पनीले अफिस अटोमेसन सोलुसन, डेभअप्स सर्भिसेस, भीपीएस होस्टिङ र कस्टम एप्लिकेसन डेभलपमेन्ट लगायत सेवा पनि दिदै आएको छ । कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् ।
एटीएस भेहिकल असिस्ट प्रा. लि.
सडक सुरक्षामा काम गरिरहेको स्टार्टअप हो, एटीएस भेहिकल असिस्ट । सन् २०२३ मा स्थापना भएको एटीएसले भेहिकलले ‘रोड सेफ्टी’ का लागि सवारी साधनमा लगाउने क्युआर डेकल विकास गरेको छ ।
उक्त क्यूआर स्क्यान गरेर गलत पार्किङ, बाटोमा अवरोध वा बिग्रिएको अवस्थामा सवारीधनीलाई जानकारी गराउन सकिन्छ । यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन् । 
यति मात्र होइन, दुर्घटना भएमा, एक स्क्यान गरेर तुरुन्तै पीडितको परिवार र एटीएस नेपालको सपोर्ट टिमलाई सूचित गर्छ, जसले द्रुत उद्धार कार्यमा सहयोग पुर्याउँछ । अहिलेसम्म कम्पनीमा ९ जनाले रोजगारी पाएका छन् ।
बोट्स इन्डस्ट्रिज प्रा. लि.
बोट्स इन्डस्ट्रिज क्लाइमेट–टेक स्टार्टअप हो । कम्पनीले विकास गरेको वायुदृष्टि प्रडक्टले हावाको गुणस्तर मापन, पूर्वानुमान र शुद्धीकरणमा प्रविधिको प्रयोग गरिरहेको छ । यसका लागि सस्तो र स्केलेबल इन्डोर र आउटडोर मोनिटरिङ सिस्टम तयार पारिएको छ, जसले PM2.5, PM10, CO₂, तापक्रम, आर्द्रता, हावाको गति र ओजोन जस्ता तत्वहरू मापन गर्छ ।
वायुदृष्टिले आफ्नो ड्यासबोर्ड र एपीआई सर्भिससमार्फत वास्तविक समयको डेटा, स्वास्थ्यमा पर्ने प्रभावको दृश्य र एआईमा आधारित पूर्वानुमान उपलब्ध गराउँदै आएको छ । कम्पनीले स्मार्ट प्युरिफिकेसन सिस्टम पनि विकास गर्दैछ । यस बाहेक बोट्स इन्डष्ट्रिजले विद्यालय र समुदायमा हावाको गुणस्तरबारे सचेतना फैलाउने काम पनि गर्दै आएको छ । सन् २०२४ मा स्थापना भएको यस कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् ।
कनेक्ट किसान प्रा. लि.
सन् २०२४ मा स्थापना भएको एग्री टेक स्टार्टअप हो, कनेक्ट किसान । यसले नेपाली किसानहरूलाई एआईमा आधारित उपकरण र सेवामार्फत स्मार्ट तथा दिगो कृषिका लागि सहयोग गर्दै आएको छ ।
यसको एआईमा आधारित एग्री एडभाइजरीले २४ सै घण्टा भ्वाइस र टेक्स्टमार्फत बाली, मौसम र बजारबारे सल्लाह दिन्छ । कम्पनीले ड्रोन, आईओटी, र जियोलोकेशन उपकरण प्रयोग गरेर प्रिसिजन फार्मिङ, वित्तीय पहुँच, बीमा, अनुदानका लागि आवश्यक ज्ञान समेत प्रदान गर्छ ।
किसानलाई खरिदकर्तासँग प्रत्यक्ष जोड्ने र क्यूआर कोडमार्फत खेती प्रक्रियाको विवरण ट्र्याक गरेर सुविधा समेत यसले दिदै आएको छ । कम्पनीले हाल १० जनालाई रोजगारी प्रदान गरेको छ ।
साइबर अलर्ट नेपाल प्रा. लि.
साइबर अलर्ट नेपाल साइबर सुरक्षा स्टार्टअप हो । सन् २०२५ मा स्थापना भएको यस कम्पनीले सेक्युरिटी मोनिटरिङ, सेक्युरिटी अपरेसन, सेक्युरिटी इन्फरमेसन, भल्नेरेबिलिटी एसिसमेन्ट, साइबर सुरक्षा तालिम र कम्प्लायन्स कन्सल्टिङ जस्ता सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले फ्रिमियम र सब्सक्रिप्सनमा आधारित विभिन्न साइबर सेक्युरिटी टुलहरू समेत विकास गरेको छ । यसमा १४ जनाले रोजगारी पाउन सफल भएका छन् ।
एलाइट्स लजिस्टिक्स प्रा. लि.
अनलाइन बिक्रेताहरूका लागि पूर्ण लजिस्टिक्स र अर्डर व्यवस्थापन समाधान प्रदान गर्ने स्टार्टअप हो, एलाइट्स लजिस्टिक्स । सन् २०२२ मा स्थापना भएको कम्पनीले सिमलेस ट्रयाकिङ सुविधासहित देशभर डेलिभरी सुविधा दिदै आएको छ ।
साथै २४ घण्टाभित्र क्यास अन डेलिभरी, एक्सप्रेस डेलिभरी, प्याकेजिङ सपोर्ट, पिकअप सेड्युलिङ सेवा पनि दिदै आएको छ ।
फास्टो नेपाल प्रा. लि.
फास्टो नेपाल क्विक कमर्स स्टार्टअप हो, जसले १० मिनेटभित्र सामानहरू डेलिभर गर्दै आएको छ । यसका लागि कम्पनीले काठमाडौं उपत्यकामा प्रत्येक २-३ किलोमिटरमा डार्क स्टोर स्थापना गरेको छ ।
सन् २०२४ मा स्थापना भएको फास्टो नेपालमा १५२ बढीले रोजगारी प्राप्त गरेका छन् । हाल काठमाडौंमा उपत्यकामा मात्रै उपलब्ध रहेको फास्टोको सेवा निकट भविष्यमा देशका प्रमुख शहरहरूमा पनि उपब्ध हुने छन् ।
म्याक ट्वान्टी–फोर अर्बिटल्स प्रा. लि.
म्याक ट्वान्टी–फोर अर्बिटल्स एक लञ्च–भेहिकल कम्पनी हो, जसले साना उपग्रहहरूको लागि हाइब्रिड प्रोपल्सन सिस्टम र स्मार्ट लञ्च भेहिकल विकास गर्दैछ ।
आफ्नै आरएण्डडी, पुनरावृत्ति परीक्षण र बजार–केन्द्रित डिजाइनमार्फत हाइब्रिड रकेट इन्जिन र साउन्डिङ रकेट्स विकास गर्दै भविष्यमा अर्बिटल क्लास भेहिकल निर्माण गर्ने लक्ष्य कम्पनीको छ ।
सन् २०२४ मा स्थापना भएको म्याक ट्वान्टी–फोर अर्बिटल्सले ग्लोबल लन्च सर्भिस प्रदायक बन्ने सपना देखेको छ । यसमा हाल १५ जनाले रोजगारी पाएका छन् ।
सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रा. लि.
सन् २०२४ मा स्थापना भएको स्टार्टअप हो, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स । यसले क्लाउडमा आधारित लोयल्टी प्लेटफर्म सम्पर्क विकास गरेको छ, जसले व्यवसायहरूलाई आफ्ना ग्राहकहरू बुझ्न, संलग्न गराउन र बिक्री बढाउन मद्दत गर्छ ।
यसको ड्यासबोर्डमार्फत ग्राहक व्यवहार ट्र्याक गर्ने, ईमेल, एसएमएस वा पुस नोटिफिकेसन पठाउन र र बहु–स्टोर व्यवस्थापन गर्न सकिन्छ । सिंक टेक्नोलोजीले ५ जनालाई रोजगारी प्रदान गरेको छ ।
ट्रिप टर्बो प्रा. लि.
ट्रिप टर्बो अनलाइन ट्राभल एजेन्सी हो । सन् २०२१ मा स्थापना भएको यसले फ्लाइट टिकट, बस टिकट काट्नेदेखि विभिन्न एडभेन्चर क्रियाकलाप र इभेन्ट टिकटसम्म बुकिङ गर्न सकिन्छ ।
यस बाहेक विभिन्न सप्लायरहरूलाई ट्रिप टर्बोले सास ड्यासबोर्ड समेत उपलब्ध गराउँदै आएको छ, जसले समयमा इन्भेन्टरी, मूल्य र बुकिङ व्यवस्थापन गर्न मद्दत गर्छ । साथै इन्भेन्ट्रीका लागि थर्डपार्टी सेवामा पार्टनर एपीआई समेत उपलब्ध गराउँदै आएको छ ।
अहिलेसम्म ट्रिप टर्बो एप २ लाख ७० हजार बढी डाउनलोड भइसकेको छ भने ८० हजार बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीमा ३५ जनाले रोजगारी पाएका छन् ।
भेन्डिङ किङ प्रा. लि.
भेन्डिङ किङ नेपालकै एक मात्र स्मार्ट भेन्डिङ मेसिन निर्माता हो । यसले विकास गरेको आईफाभेन्ड मेसिनले स्न्याक्स, पेयपदार्थ, हाइजिन प्रडक्ट र इलेक्ट्रोनिक्स वितरण गर्न सक्छ । आईओटी प्रविधिमा आधारित मेसिनमा इन्भेन्ट्री ट्रयाकिङ, डिजिटल भुक्तानी, रिमोट मोनिटरिङ जस्ता सुविधा छन् ।
कम्पनीले डिजाइनदेखि सफ्टवेयर इन्टिग्रेसन र बिक्री पछिसम्मको सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । मेसिन कार्यालय, विद्यालय, अस्पताल र सार्वजनिक स्थलका लागि उपयुक्त भएको कम्पनीले बताएको छ । सन् २०२१ मा स्थापना भएको भेन्डिङ किङमा ५ जनाले रोजगारी पाएका छन् ।
वाइजर इ–स्पोर्ट्स प्रा. लि.
सन् २०२४ मा स्थापना भएको वाइजर इ–स्पोर्ट्सले ई-स्पोर्ट्स प्रसारण, उत्पादन र इभेन्ट एक्जिक्युनसको काम गर्दै आएको छ ।
कम्पनीले टिकटक, टेलिनोर, जोङ फोरजी, साउदी टुरिजम अथोरिटी, जेन, ई-स्पोर्ट्स एशोशिएसन अफ नेपाल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै, कम्पनीले टुर्नालिंक नामक सास प्लेटफर्म पनि विकास गरेको छ । जसले प्रतियोगिता आयोजकहरूलाई प्रसारण ग्राफिक्स, वास्तविक समय आँकडा र भ्युअर इंगेजमनेन्ट टुलसहित प्रतियोगिता सञ्चालन गर्न सजिलो बनाउँछ । कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      