आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । भोटिङ आगामी मंसिर २४ गते राति १२ बजेसम्म गर्न सकिने छ ।
सोसल इन्नोभेसन आइसिटी अवार्ड समाजमा सकारात्मक रूपान्तरण ल्याउने खालका परियोजना तथा इन्नोभेसनलाई प्रदान गरिन्छ ।
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ सोसल इन्नोभेसन
कता हो
अनुसन्धानकर्ता राम–लक्ष्मण नेतृत्वको टिमले विकास गरेको डिजिटल ठेगाना प्रणाली हो, कताहो । पाँच वर्षको अनुसन्धानपछि विकसित यो प्रणालीले निःशुल्क QR कोडसहितको डिजिटल ठेगाना बनाउने सुविधा प्रदान गर्छ।
विपद् र आपतकालीन अवस्थाको लागि इमर्जेन्सी रेस्पोन्स कन्सोल र साइरनको पनि सुविधा रहेको छ। यो सुविधा हाल तार्केश्वर नगरपालिकामा लागू भइसकेको छ । साथै काठमाडौं महानगरपालिकाले कताकोसँगको सहकार्यमा NFC प्रविधिमा आधारित ठेगाना प्रणाली जडान सुरू गरेको छ ।
दास्ता
जलवायु परिवर्तनबाट हुन सक्ने सम्भावित विपद्का घटना न्युनिकरण गर्न सघाउने प्लेटफर्म हो, दास्ता । डेटा ड्रिभन प्रविधिको माध्यमबाट दास्ताले जोखिम घरहरूको पहिचान गरेर विपद्को प्रतिक्रियादेखि पूर्व तयारीसम्म सहयोग गर्छ ।
नेपालसहित बंगलादेश र केन्यामा पनि प्रयोग भइरहेको दास्ताबाट अहिलेसम्म डेढलाख बढीले लाभ लिइसकेका छन् ।
हाम्रो हेल्थ स्कुल्स
विद्यार्थीहरूलाई डिजिटल स्वास्थ्य सुविधा प्रदान गरिरहेको प्लेटफर्म हो, हाम्रो हेल्थ स्कुल्स । यसले प्रत्येक विद्यार्थीको स्वास्थ्य जाँच गर्दै विद्यार्थीको डिजिटल हेल्थ प्रोफाइल तयार गर्छ र आवश्यकता अनुसार स्वास्थ्य सुविधा उपलब्ध गराउँछ ।
अहिलेसम्म २८ हजार बढीको विद्यार्थीको डिजिटल हेल्थ आईडी बनाइसकेको हाम्रो हेल्थ स्कुल्सले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने र अस्पतालसँग डेटा आदान-प्रदान गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ ।
राहत
राहत ओपन सोर्स ब्लकचेन–आधारित फिनटेक प्लेटफर्म हो, जसले स्मार्ट कन्ट्रयाक्ट्स र डेटा प्रयोग गरी विपद्का समयमा लक्षित समूहसम्म पारदर्शी रूपमा राहत पुर्याउँछ।
युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाइटी, जीएसएमए, मेरी कर्प्स, जीएसआर फाउन्डेसन, डिजिटल पब्लिक गुड्स अलायन्स जस्ता साझेदार संस्थासँगको सहकार्यमा अहिलेसम्म यस प्लेटफर्मको प्रयोग गरी १ लाख ९ हजार भन्दा बढी मानिसले राहत पाइसकेका छन्।
नेपाल बाहेक पाकिस्तान र केन्यामा पनि यो प्रयोग भइरहेको छ। आगामी दिनमा यसलाई DPI-ready प्लेटफर्म बनाएर अन्य देशमा विस्तार गर्ने योजना छ।
सालिक
मूर्ति, त्यसको शिल्प र प्राचीन अभिलेख सम्बन्धी जानकारी दिने डिजिटल प्लेटफर्म हो, सालिक । यसको प्रयोग गरेर मूर्तिहरूको इतिहास, कला र सन्दर्भ सजिलै थाहा पाउन सकिन्छ ।
भविष्यमा ओपनलीपी र डिजिटल आर्काइभ विस्तार गर्दै नेपाली पहिचान, संस्कृति र इतिहासलाई दीगो बनाउने योजना बनाएको छ ।
आईसीटी समाचार