कीवर्डहरू -

इलेक्ट्रिक केटल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

इलेक्ट्रिक केटल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

जाडो महिनामा पानी तताउने सामानहरूको प्रयोग बढ्छ । मानिसहरू पानी छिटो तताउनको लागि वाटर केटलको प्रयोग गर्छन् ।

यो पानी तताउनका लागि निकै सुविधाजनक छ र छिट्टै धेरै लिटर पानी तताउन सकिन्छ ।

तर, सावधानीपूर्वक प्रयोग नगर्नेहरूले दुर्घटनाको सामना गर्नुपर्ने सम्भावना पनि हुन्छ । वाटर केटल एक हेवी इलेक्ट्रिकल उपकरण हो, त्यसैले यसको प्रयोग गर्दा केही विशेष कुरामा ध्यान दिनुपर्छ ।

आज हामी तपाईंलाई पानी तताउनका लागि केटल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिदैछौं । 

१. स्टेनलेस स्टील केटल सबैभन्दा सुरक्षित

यदि तपाईं इलेक्ट्रिक केटल किन्न लाग्नुभएको छ भने, स्टेनलेस स्टीलको केटल किन्नु सबैभन्दा राम्रो विकल्प हुन सक्छ । स्टेनलेस स्टील केटल उच्च तापक्रम सहनसक्छ । यसबाहेक, यो प्लास्टिकको केटलभन्दा बलियो हुन्छ र पानी तताउँदा कुनै हानिकारक फ्यूम उत्पन्न गर्दैन ।  

२. केटलमा धेरै पानी नहाल्नुहोस्  

केटलमा सुरक्षित स्तरसम्म मात्रै पानी हाल्नुपर्छ । ध्यान दिनुहोस् कि केटलको मुखबाट पानी २–३ इन्च तलसम्म मात्र भरिएको हुनुपर्छ । यदि केटलमा धेरै पानी हालियो भने उम्लँदा पानी बाहिर निस्किन सक्छ । यसले शर्ट सर्किटको खतरा र पोल्न सक्ने सम्भावना बढाउँछ ।  

३. पानी भरेपछि मात्र केटल अन गर्नुहोस् 

धेरै मानिसहरूले केटल प्रयोग गर्दा पहिले नै केटल अन गरेर त्यसपछि पानी हाल्छन् । यो बानी केटललाई बिगार्न सक्छ । यदि केटलमा पानी नभएको अवस्थामा यसलाई अन गरियो भने यो सुख्खा अवस्थामा ततिन थाल्छ । बारम्बार यस्तो गर्दा केटल जल्ने, शर्ट सर्किट हुने, वा अन्य समस्या आउने जोखिम हुन्छ ।  

४. पानी तताएपछि केटललाई पूरै खाली नगर्नुहोस्

पानी तताएपछि बोतल वा थर्मसमा हालेर प्रयोग गर्नु सामान्य कुरा हो । तर, केटललाई पूरै खाली गर्नबाट जोगिनुहोस् । प्रयोगपछि केटल बन्द हुँदा यसको बेस तातो रहन्छ । यदि केटलबाट सबै पानी निकालियो भने यसले थर्मल रिलेलाई चाँडै बिगार्न सक्छ । त्यसैले, पानी निकाल्दा थोरै पानी छोड्नुहोस् ताकि केटल विस्तारै चिसो होस् ।  

५. केटल सफा गर्न ध्यान दिनुहोस्

यदि इलेक्ट्रिक केटललाई नियमित रूपमा सफा गरिएन भने यसको भित्री भागमा तह जम्न थाल्छ, जसले पानीको गुणस्तरलाई असर पुर्‍याउँछ र स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । केटल सफा गर्न यसमा सेतो भिनेगर र आधा कटोरा पानी हाल्नुहोस् । त्यसपछि यसलाई अन गरेर पानी उमाल्नुहोस् ।

पानी उम्लिएपछि १० मिनेट राखेर फालिदिनुहोस् । अब एउटा सफा कपडाले केटल पुछ्नुहोस् । भिनेगरमा भएको एसिडले केटलभित्र जमेको तह सजिलै हटाउँछ । यो प्रक्रिया केटललाई सफा राख्नुका साथै स्वास्थ्यलाई पनि सुरक्षित राख्छ ।