कीवर्डहरू -

टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण

टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण

इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

इन्ड्राइभ नेपालकी प्रमुख रिता पोखरेलले सामाजिक सञ्जालमा फैलिएको सामग्रीलाई पूर्ण रूपमा सत्य नठान्न आग्रह गर्दै कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताएकी छन्।

‘इनड्राइभ प्रयोगकर्ता तथा चालक साझेदारहरूको सुरक्षा र समग्र अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्ने जिम्मेवार कम्पनी हो,’ पोखरेलले भनिन्, ‘सामाजिक सञ्जालमा देखिने केही भिडियो वा पोस्टहरूले घटनालाई अपूर्ण वा भ्रामक रूपमा प्रस्तुत गर्न सक्छन्। त्यसैले आधिकारिक सूचना र कम्पनीको स्पष्टिकरणलाई महत्व दिनु आवश्यक छ।’

हाल टिकटकमा एक महिला यात्रुले चालकबाट दुर्व्यवहार भएको दाबी गर्दै भिडियो सार्वजनिक गरेकी छन्। ती यात्रुका अनुसार उचित कारणसहित ‘राइड क्यान्सिल’ गरेपछि चालकले ह्वाट्सएपमार्फत सन्देश पठाउँदै घर र अनुहार चिन्छु भन्दै डर–धम्की दिएको आरोप छ। साथै, यस विषयमा कम्पनीले पर्याप्त समन्वय नगरेको पनि यात्रुको गुनासो छ।

तर कम्पनीले ती आरोपलाई आधासत्य भएको दाबी गरेको छ। स्थापित प्रक्रिया अनुसार घटनाको अनुसन्धान गर्नुका साथै आवश्यक गाइडेन्स र सपोर्ट प्रदान गर्दै संलग्न पक्षहरूसँग सिधै सम्पर्कमा रहेको इन्ड्राइभको भनाइ छ।

यात्रुले भोग्नुपरेको असहज परिस्थितिप्रति क्षमा माग्दै पोखरेलले कानुनी र गोपनीयताका कारण सबै विवरण सार्वजनिक गर्न नसकिने स्पष्ट पारेकी छन्। आवश्यक परे कानुनी प्रक्रियाअनुसार सम्बन्धित कागजात उपलब्ध गराइने पनि उनले बताइन्।

‘इन्ड्राइभ सधैँ स्वतन्त्रता र निष्पक्षतामा विश्वास गर्छ,’ उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि हामीले यसको पूर्ण अनुसन्धान गरिसकेका छौं। सामाजिक सञ्जालमा सेयर भएका सबै कुरा सत्य हुँदैनन्। प्रत्येक प्रयोगकर्तालाई आफ्नो सुरक्षा सम्बन्धी चिन्ता उठाउने अधिकारप्रति हामी सम्मान गर्छौं र सधैँ न्याय र सत्यका पक्षमा उभिन्छौं।’