मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा समावेश गर्न सुरू गर्ने भएको छ ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा समावेश गर्न सुरु गर्ने घोषणा गरेका हुन् ।
यो गत वर्ष यी दुई प्लेटफर्महरूले अपनाएको नीतिबाट विपरित हो, जसले राजनीतिक सामग्रीलाई प्रयोगकर्ताहरूले हेर्न चाहेको खण्डमा छनौट गर्नुपर्ने थियो । अब प्रयोगकर्ताहरूले राजनीतिक सामग्री तीन स्तरमा कम, मानक (डिफल्ट) र अधिक हेर्ने विकल्प पाउने छन् ।
मोसेरीले भनेका छन्, ‘के राजनीतिक सामग्री हो र के होइन भनेर स्पष्ट रेखा कोर्न असम्भव छ ।’ यो परिवर्तन यसै हप्ता अमेरिका र केही साताभित्र विश्वभर लागू गरिनेछ । साथै मेटाले तेस्रो-पक्ष तथ्य-जाँचकर्तालाई हटाएर ‘कम्युनिटी नोट्स’ मोडेल लागू गर्ने समेत बताइसकेको छ । जुन एक्स (पहिलेको ट्विटर) मा प्रयोग भइरहेको मोडेलसँग मिल्दोजुल्दो छ ।
निक क्लेगले मेटाका ग्लोबल अफेयर्स अध्यक्ष पद समेत त्यागेका छन् । सो पदमा अहहिले जोएल काप्लानले आएका छन् । यसैबीच, इन्स्टाग्रामले LGBTQ ह्यासट्यागहरूलाई ‘यौनजन्य सामग्री’ को रूपमा वर्गीकृत गरी ब्लक गरेको थियो, जुन कम्पनीले त्रुटि भएको बताएको छ ।