मेटाको सामाजिक सञ्जाल थ्रेड्सले दैनिक रूपमा १५ करोड सक्रिय प्रयोगकर्ताको नयाँ कीर्तिमान बनाएको छ । यो तथ्यांक मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको तेस्रो त्रैमासिक नाफा विवरण सार्वजनिक कार्यक्रममा बताएका हुन् ।
गत अगस्टमा मेटाले थ्रेड्सका मासिक प्रयोगकर्ता ४० करोड नाघेको जानकारी दिएको थियो । जुकरबर्गले थ्रेड्सलाई मेटाको अर्को ‘बिलियन–युजर एप’ बनाउन सकिने बताएका छन् । उनका अनुसार, थ्रेड्स हाल आफ्नो वर्गको अग्रणी एप बन्ने बाटोमा छ ।
जुकरबर्गले प्रयोगकर्ताले एपमा बिताउने समय पनि १० प्रतिशतले बढेको उल्लेख गरे । उनले यो वृद्धि मेटाको एआई सिफारिस प्रणालीमा भएका सुधारको परिणाम भएको बताए ।
यसैबीच, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले पनि मेटा अहिले थ्रेड्सका लागि एल्गोरिदम निजीकरण (algorithm personalization) विकल्प परीक्षण गरिरहेको बताएका छन् । यसमार्फत प्रयोगकर्ताले आफ्ना सिफारिसहरू ‘ट्युन’ गर्न सक्ने सुविधा पाउनेछन् ।
थ्रेड्सको लोकप्रियता बढेसँगै, प्लेटफर्ममा विज्ञापन पनि तीव्र रूपमा विस्तार भइरहेको मेटाले जनाएको छ । मेटाकी मुख्य वित्त अधिकारी सुसान लीका अनुसार, अब थ्रेड्सको फिडमा विश्वभर विज्ञापन सञ्चालनमा आएको छ ।
यसअघि कम्पनीले ३० देशमा सानो परीक्षणपछि विज्ञापन सुरु गरेको थियो । अहिले मेटाले थ्रेड्समा भिडियो विज्ञापनलगायत नयाँ विज्ञापन ढाँचा थप्ने योजना सार्वजनिक गरेको छ ।
साथै मोनिटाइजेसन रणनीति अनुसार विज्ञापनको ढाँचा र प्रदर्शन दुवैलाई अझ प्रभावकारी बनाइने बताइएको छ ।
आईसीटी समाचार