अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आइतबार देखि इटहरी–२ स्थित रोयल रिसोर्टमा चलिरहेको ‘गल्र्स इन आईसिटी नेपाल’ तीनदिने तालिमले १८–२४ वर्ष उमेर समूहका १०० भन्दा बढी युवतीहरूलाई उदयीमान (इमर्जिङ) प्रविधिमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिरहेको छ ।
तालिमको पहिलो दिन प्रदेश सरकारकी राज्य मन्त्री सिर्जना राईले उद्घाटनकर्ताका रूपमा उद्घोषणा गर्दै महिला सशक्तिकरण र डिजिटल समावेशीकरणमा यस्ता कार्यक्रमले धेरै योगदान पुर्याउने बताइन् ।
नेपाल बिजनेस कलेजका केशव भण्डारीको संयोजकत्वमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा सम्बन्धी प्यानल छलफलमा रुजा पोख्रेल, कृष्णकुमार मंडल, रोजिना दाहाल, अर्चना कर्ण र प्रमिशा मिश्राले आफ्ना अनुभव र सुझावहरू साँटेका थिए ।
पहिलो दिनकै करियर सत्रमा अर्नेस्ट एण्ड यंगका वरिष्ठ कन्सल्टेन्ट अभिमन्यु सिंह र आईटीयूका क्रस–थीम्याटिक प्रोग्राम अफिसर क्यारोलिन ट्रोइनले सूचना–प्रविधि क्षेत्रमा करियर निर्माण, वैश्विक रोजगार र स्वरोजगार अवसरबारे मार्गदर्शन दिएका थिए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महत्तोमार्फत एआई विषयक विशेष प्रस्तुति पनि रहेको थियो । महतोले ‘लोकल समस्या समाधानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग’ शीर्षकमा प्राविधिक दृष्टिकोण र सफल केस स्टडीहरू प्रस्तुत गरेका छन् ।
तालिमको दोस्रो दिन प्रबन्धक उपकुलपति र रजिस्ट्रार प्रा.डा कल्याणि मिश्र त्रिपाठीले शुभारम्भ गर्दै सहभागीहरूलाई अभिवादन गरिन् । त्यसपछि अभिमन्यु सिंहले सञ्चालन गरेको ह्यान्ड्स–अन ल्याब सत्रमा सहभागी युवतीहरूले साना–ठूला स्थानीय समस्याहरूमा एआई समाधान विकासका प्राथमिक चरणहरू आत्मसात् गरे ।
तीनदिने यो तालिम अहिले चलिरहेको छ र अन्तिम दिनको कार्यक्रममा पनि उदयीमान प्रविधिहरुको बारेमा विशेष छलफल सत्र रहेको छ ।
यस कार्यक्रमले नयाँ प्रविधिहरूमा युवतीहरूको सीप विकास गर्न र सहभागीता बढाउन महत्त्वपूर्ण विश्वास खेल्ने आयोजकको विश्वास छ ।