कीवर्डहरू -

प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ

प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ

डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले सेवाग्राहीहरूले अपलोड गरेका फोटो, नागरिकताको प्रतिलिपिलगायतका डेटा आपराधिक गिरोहलाई उपलब्ध गराएको खुलेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले यस कार्यमा संलग्न धादिङ ज्वालामुखी गाउँपालिका ५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।

कमिसनका लागि उनीहरूको सेवाग्राहीको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने गरेका थिए । 

वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक-फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।