अक्टोबर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटर स्पोर्टस् गेम्स २०२४ मा तीन नेपाली खेलाडी सहभागी हुने निश्चित भएको छ। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनको आयोजनामा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा तीन नेपाली खेलाडीले सहभागीता जनाउनेछन् ।
दर्जनाैं विधामा हुने गेम्समा नेपाली टिमले दुई प्रकारका प्रतिस्पर्धामा सहभागिता जनाउने छन्। ई–स्पोर्टस् जिटी विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेल अटो स्लालमका प्रतिस्पर्धी हुन् । उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्नेछन् ।
सुरुमा कार्टस् ड्राइभर रहेका दिप्रश नेपाली सिम–रेसिङका उत्कृष्ट मध्येका ड्राइभर हुन् भने पौडेल एसिया प्यासिफिक अटोजिमखाना च्याम्पियनसिपका प्रतिस्पर्धी र एथलेट कमिसनका संयोजकसमेत हुन्। त्यसैगरी बैंक अफिसर प्रज्ञा नेसनल अटोक्रसकी प्रतिस्पर्धी तथा मोटर स्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन्।
प्रत्येक दुई वर्षमा हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका १०० भन्दा बढी देशका खेलाडीसँग प्रतिस्पर्धा हुने हुँदा आफ्नो कौशलता प्रदर्शन गर्नेे अवसरको रुपमा खेलाडीले लिएका हुन्छन्, जहाँ मोटर स्पोर्टसका विश्वप्रसिद्ध ड्राइभरसँग नेपाली ड्राइभर समानान्तर उपस्थित जनाउने रोमाञ्चक क्षण हुनेछ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यसअघिको संस्करणमा फ्रान्सको ट्रयाकबाटै रिपोर्टिङ गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा उपस्थित हुनेछन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोटर्सको प्रवर्द्धन तथा विश्वस्तरीय ड्राइभर तयार गर्न यस किसिमको अन्तर्राष्ट्रिय सहभागिता र टिमले थप मद्दत पुग्नेछ।
अघिल्लो संस्करण २०२२का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले एफआईए मोटर स्पोर्टस् गेम्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटर स्पोर्टस्ले गर्व महसुस गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न खेलाडी उत्सुक भएको बताए ।
गेम्सका लागि नेपाली टिम समर्पित रहेको र रामो प्रदर्शन गर्ने विश्वास गर्दै संघका अध्यक्ष दशरथ रिसाल भन्छन्, ‘यो केवल प्रतिस्पर्धा मात्र होइन, नेपालको बढ्दो मोटर स्पोर्टस् संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो।’
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      