अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भई हाल ललितपुरको एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँके घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले र सर्लाही घर भई हाल ललितपुरको नख्खु बस्ने ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।
प्रहरीका अनुसार हुण्डी तथा अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा पहिलो चरणमा नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट नियन्त्रणमा लिइएको थियो।
नरेशसँगको प्रारम्भिक सोधपुछका क्रममा दिप्ती पोखरेल र प्रवेश अलीका लागि उनले ‘USDT’ (डिजिटल डलर) खरिद–बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले दिप्ती पोखरेललाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहनपुलबाट १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो। यस्तै प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय नागरिक प्रवेश अलीको मोबाइलमा रहेको बाइनान्स आइडी (Binance ID) मार्फत हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको फेला परेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र यो कारोबारमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
आईसीटी समाचार