कीवर्डहरू -

चार सय उद्यमी सहभागी हुने एआई र युवा उद्यमशीलता सम्मेलन हुँदै

चार सय उद्यमी सहभागी हुने एआई र युवा उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को सहकार्यमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ । ‘नेक्स्टजेन नेपाल : एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ नारासहित सम्मेलन असोज २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरबाट करिब ४ सय उद्यमी व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलन आयोजना गर्नेसम्बन्धी समझदारीपत्रमा सीबीफीन र एनबीआईबीच असोज ५ गते हस्ताक्षर भएको थियो ।

समझदारी हस्ताक्षर कार्यक्रममा सीबीफीनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनमा वित्तीय पहुँच र समावेशीकरणसँगै उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयमा छलफल हुने बताए । सम्मेलनले बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तार गर्दै व्यावसायिक सहकार्यका लागि आधार तयार गर्ने उनको भनाइ छ ।

उनले युवा उद्यमीमा वित्तीय साक्षरता बढाउने, डिजिटल बैंकिङको प्रयोग विस्तार गर्ने र जिम्मेवार कर्जा उपभोगको संस्कार विकास गर्न सम्मेलनले योगदान पुर्‍याउने बताए । बैंक तथा वित्तीय संस्थाले ल्याएका नवीन वित्तीय उत्पादन लक्षित वर्गसम्म पुर्‍याउन तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउनसमेत सम्मेलन उपयोगी हुने उनले बताए ।

एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए । स्टार्टअपका लागि बिउ पुँजी, उद्यममा वित्तीय पहुँच तथा आवश्यक नीतिगत व्यवस्था बैंक तथा वित्तीय क्षेत्रसँग प्रत्यक्ष जोडिएकाले सीबीफीनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।

आयोजकका अनुसार सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि आवश्यक दिशाबोध गर्नेछ । एआई, स्टार्टअप, नवीन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका र प्रवेश गर्न चाहने युवा उद्यमीलाई सम्मेलनले आवश्यक मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ ।