सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २० गते बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) वितरण गर्ने भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सरकारले नेसनल आईसीटी अवार्ड २०२४ वितरण गर्न लागेको हो ।
बिहीबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा ‘सम्वृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नारासहित मनाइने उक्त दिवसमा विभिन्न ७ विधामा अवार्ड पनि प्रदान गरिने छ ।
कार्यक्रम बिहीबार बिहान ९ बजेदेखि राष्ट्रिय सभागृहमा सुरू हुनेछ । सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीलाई अवार्ड वितरण गरिने मन्त्रालयले जनाएको छ ।
यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गरिने छ ।