काठमाडौं । बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपमा दायर मुद्दा टुंग्याउन टिकटकले अमेरिकी सरकारलाई ४० करोड डलर तिर्न सहमति जनाएको छ । यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा भएको सबैभन्दा ठूलो जरिवानामध्येको एक हो ।
यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकी न्याय विभागले सन् २०२४ मा दायर गरेको मुद्दासँग सम्बन्धित छ । उक्त मुद्दामा टिकटक र यसको मातृ कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका लाखौँ अमेरिकी बालबालिकाको ठूलो परिमाणमा व्यक्तिगत तथ्यांक संकलन गरेको आरोप लगाइएको थियो ।
अमेरिकी सरकारले यस्तो गतिविधि सन् २००० मा लागू भएको संघीय कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’को उल्लंघन भएको जनाएको थियो । उक्त कानुनले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको अनलाइन व्यक्तिगत जानकारी संकलन तथा प्रयोग गर्दा अभिभावकको सहमति आवश्यक हुने व्यवस्था गरेको छ ।
अमेरिकी न्याय विभागका सहायक महान्यायाधिवक्ता ब्रेट शुमेटले सम्झौतापछि बालबालिका र अभिभावक पहिलेभन्दा सुरक्षित हुने दाबी गरेका छन् । बालबालिकाको अनलाइन गोपनीयता कानुन उल्लंघनमा यसअघि पनि ठूला प्रविधि कम्पनीहरू कारबाहीमा परिसकेका छन् ।
गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना तिरेका थिए । यसैबीच, मेटाले पनि बालबालिकाको गोपनीयता कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाका २९ राज्यका महान्यायाधिवक्ताबाट कानुनी चुनौती सामना गरिरहेको छ ।
उक्त मुद्दामा फेसबुक र इन्स्टाग्रामको स्वामित्व रहेको मेटाले बालबालिकालाई लक्षित गरेको र उनीहरूबाट आर्थिक लाभ उठाएको आरोप लगाइएको छ । टिकटकविरुद्धको अमेरिकी मुद्दा कम्पनीको अमेरिकी व्यवसाय र सञ्चालनलाई चीनमा रहेको मूल कम्पनीबाट अलग गर्ने प्रक्रियाअघि नै दायर भएको थियो ।
यद्यपि, अहिले भएको सम्झौताले चीनमा रहेको टिकटकको सञ्चालनसँग सम्बन्धित विषयलाई मात्र समेट्ने बताइएको छ । निजी स्वामित्वमा रहेको बाइटडान्सको पछिल्लो मूल्यांकन लगानीकर्ताहरूले करिब ५ खर्ब ५० अर्ब डलर गरेका छन् ।
आईसीटी समाचार