टिकटकले अमेरिकाको स्वामित्व बेच्न पुनः ७५ दिनको समय पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कम्पनीलाई अमेरिकी खरिदकर्ता खोज्नका लागि ७५ दिनको समय थप गरेका छन् ।
‘मेरो प्रशासनले टिकटकलाई बचाउन एउटा डीलमा निकै मेहनत गरिरहेको छ र हामीले यसमा उल्लेखनीय प्रगति गरेका छौं,’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ‘डीललाई सबै आवश्यक स्वीकृति सुनिश्चित गर्न अझ काम आवश्यक भएकाले मैले कार्यकारी आदेशमार्फत टिकटकलाई थप ७५ दिन सञ्चालनमा रहन दिने निर्णय गरेको छु ।’
ट्रम्पको पोस्टले हालै अमेरिका–चीन लगायत व्यापार साझेदारहरूविरुद्ध ल्याइएको ट्यारिफ (शुल्क) ले यो डील पूरा गर्न मद्दत पुर्याउने आशा गरिएको छ ।
सन् २०२४ अप्रिलमा पूर्व राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेको टिकटक प्रतिबन्ध कानूनअनुसार, टिकटकको मालिक कम्पनी बाइटडान्सले कम्पनी अमेरिकी खरिदकर्तालाई बेचेको खण्डमा मात्र यो अमेरिका भित्र रहन सक्छ, नत्र अमेरिकी एप स्टोर र वेब होस्टिङबाट हटाइनेछ ।
लामो कानुनी लफडापछि सर्वोच्च अदालतले उक्त प्रतिबन्धलाई मान्यता दिएको थियो र कानून कार्यान्वयन गर्ने जिम्मा ट्रम्प प्रशासनलाई सुम्पिएको थियो । यसकै कारण टिकटक केही समयका लागि अमेरिकामा प्रतिबन्ध पनि भएको थियो । तर ट्रम्पले कार्यकारी आदेशमार्फत प्रतिबन्धको कार्यान्वयनलाई ७५ दिनका लागि स्थगित गरेका थिए ।
टिकटकको अमेरिकी स्वामित्व खरिद गर्नका लागि अमेजन, युट्युबर मिस्टर बिस्ट, रेडिटका सहसंस्थापक एलेक्सिस, परप्लेक्सिटी एआई इच्छुक छन् ।
तर हालसम्म बाइटडान्स वा चिनियाँ सरकारले सन्तुष्ट हुने किसिमको डील कोहीसँग बनेको छैन । ट्रम्प प्रशासनले कानून कार्यान्वयन नगर्ने निर्णय जारी राखेमा, यो प्रक्रिया अनिश्चितकालसम्म लम्बिन सक्ने देखिएको छ ।