ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तापछि टिकटक सम्झौतामा केही दिनमै हस्ताक्षर हुने बताएकी छिन् ।
शुक्रबार ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै टिकटक सम्झौता प्रगतिमा रहेको र आफूले त्यसलाई स्वीकृति दिएको बताएका थिए । उनले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दा पनि टिकटक सम्झौता अनुमोदन गरेको उल्लेख गरेका थिए ।
तर द न्यू योर्क टाइम्सका अनुसार चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले सी जिनपिङले कम्पनीको इच्छालाई सम्मान गर्ने र बजारका नियमअनुसार, दुवै पक्षको हितलाई ध्यानमा राख्ने समाधान खोज्न तयार रहेको जनाएका थिए ।
टिकटकको मूल कम्पनी बाइटडान्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई अमेरिकामा टिकटक सुरक्षित राख्ने प्रयासका लागि धन्यवाद दिन्छौं । बाइटडान्सले सम्बन्धित कानुनअनुसार काम गर्नेछ, जसले गर्दा अमेरिकी प्रयोगकर्ताहरूले टिकटक प्रयोग गर्न पाउनेछन् ।’
फक्स न्युजको सर्टर्डे इन अमेरिका कार्यक्रममा बोल्दै लेभिटले सम्झौता पूरा भइसकेको र अब त्यसमा हस्ताक्षर मात्र गर्न बाँकी रहेको बताएका छन् । हस्ताक्षरका लागि दुवै पक्षका टोलीहरू काम गरिरहेका छन् ।
उनका अनुसार टिकटक अमेरिकामा अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा हुनेछ । १३ सदस्यीय बोर्डमध्ये सात सिट अमेरिकीहरूको हुनेछ भने डेटा र गोपनीयताको जिम्मेवारी ओराकलले लिनेछ । उनले थपिन्, ‘एल्गोरिदमको नियन्त्रण पनि अमेरिका तर्फै रहनेछ ।’
सम्झौताको प्रस्तावित प्रावधानमा अमेरिकामा प्रयोगकर्ताहरूका लागि नयाँ एप ल्याउने, एल्गोरिदम भने बाइटडान्सको प्रविधिमै रहने, अमेरिकी लगानीकर्ताले नियन्त्रण गर्ने र ट्रम्प प्रशासनलाई अर्बौं डलरको लाभांश हुने उल्लेख छ।
यद्यपि सम्झौतामा अझै औपचारिक हस्ताक्षर भएको छैन। ट्रम्पले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने समयसीमा चौथोपटक विस्तार गरेर डिसेम्बरसम्मको म्याद दिएका छन् ।