कीवर्डहरू -

नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्म बन्दै टिकटक

नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्म बन्दै टिकटक

नेपालमा टिकटक अब केवल मनोरञ्जनको माध्यममा सीमित नरही कन्टेन्ट खोज्ने प्रभावशाली प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। टिकटकको ‘सर्च’ फिचरमार्फत प्रयोगकर्ताहरू नयाँ आइडिया खोज्न, व्यवहारिक सीप सिक्न, प्रेरणा लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसम्म सजिलै पहुँच गर्न थालेका छन्।

पछिल्लो समय नेपाली प्रयोगकर्ताहरूले टिकटकलाई कुनै पनि विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न सकिने भिडियो–फर्स्ट सर्च इञ्जिन का रूपमा प्रयोग गर्न थालेका छन्। परीक्षाको तयारीदेखि यात्रा योजना बनाउने, ताजा समाचार बुझ्ने, नयाँ सीप सिक्ने वा दैनिक जीवनका समस्याको समाधान खोज्ने काममा छोटा भिडियोमार्फत वास्तविक समयमै जानकारी लिने प्रवृत्ति बढ्दै गएको छ।

यसले प्रयोगकर्ताहरू वास्तविक अनुभवमा आधारित, बुझ्न सजिलो र व्यवहारिक कन्टेन्टप्रति झन् आकर्षित हुँदै गएको संकेत गर्दछ। क्रियटरहरूले आफ्नै अनुभव र दृष्टिकोणबाट बनाउने सामग्रीले प्रयोगकर्तालाई विषय बुझ्न सजिलो बनाएको देखिन्छ।

नेपालमा टिकटक अब मनोरञ्जनको प्लेटफर्म मात्र रहेन। ‘सर्च’ फिचरमार्फत यो जिज्ञासा, सिकाइ र व्यवहारिक प्रयोगमा आधारित एक गतिशील तथा दृश्यात्मक खोज अनुभवको केन्द्र बन्दै गएको छ। पछिल्लो एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, ‘हाउ टु’ भिडियो तथा ब्रेकिङ न्युजको व्याख्यासम्बन्धी सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्।

नेपालको टिकटक कम्युनिटीले वास्तविक जीवनसँग जोडिएका प्रश्नहरूको उत्तर खोज्ने गति तीव्र बनाएको छ। #LearnOnTikTok, #TravelTok, #FoodTok, #BookTok लगायतका लोकप्रिय ह्यासट्यागसँग सम्बन्धित सर्चहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। यसले नेपाली प्रयोगकर्ताहरू आफ्ना रुचि, आवश्यकता र जिज्ञासासँग मेल खाने सामग्री खोज्न टिकटकतर्फ अझ बढी आकर्षित हुँदै गएको देखाउँछ।

टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदका अनुसार नेपालमा टिकटक सर्च प्रयोगकर्ताको स्वाभाविक सुरुवाती बिन्दु बन्दै गएको छ।

“नेपालमा हाम्रो कम्युनिटीले कुनै पनि विषय कसरी काम गर्छ भनेर बुझ्न, छिटो जानकारी पाउन वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक सर्च प्रयोग गरिरहेको छ,” उनले भने, “टिकटकलाई विशेष बनाउने पक्ष यसको समुदायको प्रामाणिकता हो, जहाँ सामग्री मानवीय, व्यवहारिक र वास्तविक अनुभवमा आधारित हुन्छ।”

सुरक्षित खोज अनुभवमा जोड

टिकटक सर्चको प्रयोग बढ्दै जाँदा प्लेटफर्मले प्रयोगकर्ताको सुरक्षा र डिजिटल वेल–बीइंगलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। यसका लागि टिकटकले सर्च इन्टरभेन्सन नामक इन–एप सुविधा लागू गरेको छ, जसले संवेदनशील वा जोखिमयुक्त विषय खोज्दा प्रयोगकर्तालाई विश्वसनीय, सहयोगी तथा आधिकारिक स्रोततर्फ मार्गदर्शन गर्छ।

यी इन्टरभेन्सनहरू मानसिक स्वास्थ्य सहायता, स्थानीय हेल्पलाइन, प्राकृतिक प्रकोप, आपतकालीन अवस्था, गलत जानकारीको जोखिम तथा दुर्व्यवहार वा हिंसाजस्ता संवेदनशील विषयमा केन्द्रित छन्। नेपालमा यौन दुर्व्यवहारसम्बन्धी खोज गर्दा देखिने ‘सर्च गाइड’ ले प्रयोगकर्तालाई टिकटकको सेफ्टी सेन्टर र स्थानीय सहयोग स्रोततर्फ निर्देशित गर्छ।

यसका साथै बाढी तथा अन्य प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयमा पनि टिकटकले सर्च इन्टरभेन्सन सक्रिय गरेको छ, जसले प्रयोगकर्तालाई समयमै जिम्मेवार र आधिकारिक जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउँछ।

टिकटक दक्षिण एशियाकी क्षेत्रीय ट्रस्ट एण्ड सेफ्टी लिड आस्मा अन्जुमका अनुसार टिकटकको सर्च फिचर safety-by-design अवधारणामा आधारित छ।

“सर्च इन्टरभेन्सनहरूले संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई तथ्यपरक, सहयोगी र सामाजिक जिम्मेवारीमा आधारित मार्गदर्शन प्रदान गर्छ,” उनले भनिन्।

दक्षिण एशियामा सर्चको भविष्य

दक्षिण एशियाभर टिकटक खोज गन्तव्यका रूपमा लोकप्रिय बन्दै जानु प्रयोगकर्ताहरू सरल, दृश्यात्मक र प्रामाणिक जानकारी खोजिरहेको संकेत भएको विश्लेषण गरिएको छ। नयाँ रुचि पत्ता लगाउने, परीक्षाको तयारी गर्ने, यात्रा योजना बनाउने, खेलकुद वा दैनिक जीवनका सीप सिक्ने क्रममा प्रयोगकर्ताहरू आफूजस्तै भाषा बोल्ने र सोच राख्ने क्रियटरसँग जोडिन सहज महसुस गरिरहेका छन्।

टिकटकले दक्षिण एशियामा प्रडक्ट इनोभेसन, सुरक्षा संरचना र स्थानीय साझेदारीमा लगानी बढाउँदै जाँदा ‘सर्च’ फिचर आगामी दिनमा पनि कन्टेन्ट खोज्ने, ज्ञान विस्तार गर्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रमुख माध्यमकै रूपमा रहने अपेक्षा गरिएको छ।