नेपालमा निर्वाचनको स्वच्छता तथा निष्पक्षता प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। आज निर्वाचन आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो।
यस सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन स्वच्छतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता प्रवर्द्धन, भ्रामक सूचना नियन्त्रण तथा प्रमुख सरोकारवालाबीच निर्वाचनको स्वच्छतासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यशालामा निर्वाचन आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लेटफर्ममार्फत निर्वाचन प्रक्रियाको संरक्षण कसरी गरिन्छ भन्नेबारे जानकारी गराएको थियो। यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा छलकपटपूर्ण व्यवहारसम्बन्धी नीतिहरू प्रस्तुत गरिएको थियो।
त्यसैगरी, प्रयोगकर्तालाई विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनहरू रिपोर्ट गर्न तथा निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा टिकटकका विभिन्न उपकरण र सुविधाबारे पनि जानकारी गराइएको थियो।
टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हुने उल्लेख गर्दै सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिएको बताए। “यस सहकार्यमार्फत हामी सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको स्वच्छतालाई सुदृढ बनाउने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्यमा छौं,” उनले भने।
त्यसैगरी, निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन स्वच्छता र डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यलाई आयोगले स्वागत गरेको बताए। यस्ता सहकार्यहरूले भ्रामक सूचना बारे जनचेतना बढाउन र निर्वाचन प्रक्रियामा सूचित तथा जिम्मेवार सहभागितालाई टेवा पुर्याउने उनको भनाइ छ ।
टिकटकले नेपाली समुदायका लागि विश्वसनीय सूचना वातावरण सुनिश्चित गर्न निर्वाचन आयोग तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्ने जनाएको छ। विश्वव्यापी डिजिटल प्लेटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचनाको जोखिम न्यूनीकरण गर्न र स्वस्थ नागरिक सहभागिता प्रवर्द्धन गर्न निर्वाचनको स्वच्छता सुनिश्चित गर्नु अत्यावश्यक रहेको टिकटकको धारणा छ।
टिकटकका नीतिहरू तथा उपलब्ध स्रोत सामग्रीबारे थप जानकारीका लागि टिकटक ग्लोबल इन्टिग्रिटी हबबाट अवलोकन गर्न सकिनेछ।
आईसीटी समाचार