टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउँदै २०२५ को तेस्रो त्रैमासिक (Q3 2025) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्यांक समेटिएको यस रिपोर्टले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने सामग्री पहिचान र हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरू प्रस्तुत गरेको छ।
रिपोर्टअनुसार नेपालमा उक्त तीन महिनाको अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाइएका छन्। यस अवधिमा सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमा ९८ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ।
विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासिकमा २० करोड ४५ लाख ३४ हजार ९३२ भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। तीमध्ये १८ करोड ६६ लाखभन्दा बढी भिडियो अटोमेटिक डिटेक्सन प्रविधिबाट पहिचान गरी हटाइएका थिए भने थप समीक्षापछि ८९ लाख ५० हजार ७३५ भिडियो पुनःस्थापना गरिएको छ। सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत रहेको छ भने ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको छ।
प्लेटफर्मको विश्वसनीयता कायम राख्न टिकटकले यस अवधिमा ११ करोड ८६ लाख १८ हजार ३९९ नक्कली अकाउन्ट हटाएको छ। साथै १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता हुन सक्ने आशङ्कामा थप २ करोड २२ लाख २६ हजार ५४२ अकाउन्ट पनि हटाइएको छ।
हटाइएका कुल भिडियोमध्ये करिब ३० प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु रहेको पाइएको छ, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन। यस्तै, १५.७ प्रतिशत भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए। थप रूपमा, ३२.९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत कन्टेन्ट सम्पादन गरिएको वा एआईबाट सिर्जना गरिएको सामग्रीका रूपमा चिनिएका थिए।
कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको टिकटकले यसबाट कन्टेन्ट तथा अकाउन्टसम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी उपलब्ध गराउँदै पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै आएको जनाएको छ। Q3 2025 रिपोर्टसहित टिकटकका कन्टेन्ट गाइडलाइन, टुल्स र नीतिबारे थप जानकारी टिकटक ट्रान्सपेरेन्सी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ।
आईसीटी समाचार