काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्ना अनुसन्धानकर्तालाई प्रतिस्पर्धी कम्पनीका एआई मोडलबाट प्राप्त नतिजा प्रयोग गरेर आफ्ना मोडल सुधार नगर्न स्पष्ट निर्देशन दिएको छ ।
चीनको सरकारी समर्थित सञ्चारमाध्यम द पेपरका अनुसार कम्पनीका संस्थापक झाङ यिमिङले हालै आयोजित आन्तरिक बैठकमा एआई अनुसन्धानलाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले छिटो सफलता हासिल गर्ने उद्देश्यले अन्य कम्पनीका एआई मोडलबाट प्राप्त नतिजालाई प्रयोग गर्नु कम्पनीको अनुसन्धान नीतिसँग मेल नखाने बताएका हुन् ।
एआई क्षेत्रमा मोडल डिस्टिलेसन भन्नाले ठूलो तथा उन्नत एआई मोडलले उत्पादन गरेका नतिजा वा प्रतिक्रियाको आधारमा साना मोडललाई प्रशिक्षण दिने प्रक्रियालाई बुझिन्छ । पछिल्लो समय यो प्रविधि विश्वव्यापी रूपमा बौद्धिक सम्पत्ति, अनुसन्धान नैतिकता र निष्पक्ष प्रतिस्पर्धासँग जोडिएर विवादको विषय बन्दै आएको छ ।
रिपोर्टअनुसार झाङले कम्पनीको सिड एआई अनुसन्धान टोलीलाई सम्बोधन गर्दै दिगो प्राविधिक विकासका लागि आवश्यक परे तत्काल प्राप्त हुने व्यावसायिक फाइदाभन्दा मौलिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनका अनुसार डिस्टिलेसनमा अत्यधिक निर्भरता बढेमा कम्पनीको आफ्नै नवप्रवर्तन क्षमता कमजोर बन्न सक्छ ।
यसैबीच, चीनका एआई कम्पनीहरूबीच कम लागतमा उच्च क्षमता भएका एआई मोडल विकास गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही प्रतिस्पर्धाका कारण डिस्टिलेसन प्रविधिको प्रयोग पनि व्यापक बहसको विषय बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।
उता, अमेरिकी प्रशासन र प्रमुख एआई कम्पनीहरूले चिनियाँ कम्पनीहरूले गोप्य एआई प्रणालीको क्षमता निकाल्न डिस्टिलेसन प्रविधिको प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले त्यस्ता कम्पनीमाथि आर्थिक प्रतिबन्ध वा अमेरिकी व्यापार कालोसूचीमा समावेश गर्न सकिने चेतावनी दिएका छन् ।
यस आरोपलाई चीनले अस्वीकार गर्दै अमेरिकाले एआई क्षेत्रमा प्रभुत्व कायम गर्न खोजेको आरोप लगाएको छ । बेइजिङले आवश्यक परे त्यसको प्रतिकारमा जवाफी कदम चाल्ने चेतावनी समेत दिएको छ ।
आईसीटी समाचार