कीवर्डहरू -

टिकटकले गुपचुप रूपमा सार्वजनिक गर्‍यो सर्टड्रामा एप, एक मिनेट जति लामो ड्रामा भिडियो हेर्न सकिने

टिकटकले गुपचुप रूपमा सार्वजनिक गर्‍यो सर्टड्रामा एप, एक मिनेट जति लामो ड्रामा भिडियो हेर्न सकिने

लोकप्रिय सामाजिक सञ्जाल टिकटकले अमेरिका र ब्राजिलमा ‘पाइनड्रामा’ नामक नयाँ स्ट्यान्ड–अलोन सर्ट ड्रामा एप गुपचुप रूपमा सार्वजनिक गरेको छ। 

यो एपमार्फत प्रयोगकर्ताले माइक्रोड्रामा हेर्न सक्छन्, जसलाई एक मिनेट जति लामो साना–साना एपिसोडमा प्रस्तुत गरिएका काल्पनिक टेलिभिजन शोका रूपमा लिन सकिन्छ। सरल भाषामा भन्नुपर्दा, यो टिकटकजस्तै हो, तर यहाँ देखिने प्रत्येक भिडियो कुनै न कुनै कथाको निरन्तर सानो एपिसोड हुन्छ।

पाइनड्रामा आइओएसएन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ। एप निःशुल्क प्रयोग गर्न सकिने छ र हालसम्म यसमा विज्ञापन समावेश गरिएको छैन, यद्यपि भविष्यमा विज्ञापन मोडेल लागू हुन सक्ने संकेत गरिएको छ। एपको ‘डिस्कभर’ ट्याबमार्फत प्रयोगकर्ताले ‘अल’ र ‘ट्रेन्डिङ’ ड्रामाहरू छुट्याएर हेर्न सक्छन्। साथै, प्रयोगकर्ताको रुचिअनुसार तयार गरिएका अन्तहीन भर्टिकल सिफारिसमार्फत पनि सामग्री देखाइन्छ। 

पाइनड्रामामा थ्रिलर, रोमान्स, पारिवारिक कथालगायत विभिन्न विधाका ड्रामाहरू समावेश छन्। ‘लभ एट फर्स्ट बाइट’ र ‘द अफिसर फेल फर मी’ जस्ता शोहरू हाल लोकप्रिय मानिएका छन्।

एपमा ‘वाच हिस्ट्री’ सुविधा छ, जसबाट प्रयोगकर्ताले हेर्दै गरेका सिरिज पुनः सजिलै सुरु गर्न सक्छन्। त्यस्तै, मनपरेका ड्रामाहरू सेभ गर्न ‘फेभरेट्स’ सेक्सन उपलब्ध छ। कमेन्ट सेक्शनमार्फत अन्य दर्शकसँग विचार आदान–प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ। फुल–स्क्रिन मोडमा क्याप्सन र साइडबार हटाएर अविरल रूपमा सामग्री हेर्न सकिन्छ।

यो कदम टिकटकले गत वर्ष आफ्नो मुख्य एपभित्र ‘टिकटक मिनिस’ नामक सेक्शन सुरु गरेपछि आएको हो, जहाँ माइक्रोड्रामा हेर्न सकिन्छ। पाइनड्रामाको सुरुवातसँगै टिकटकले रीलशर्ट र ड्रामाबक्स जस्ता लोकप्रिय माइक्रोड्रामा प्लेटफर्मसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने संकेत दिएको छ।

भेराइटीको प्रतिवेदन अनुसार हालका वर्षहरूअघि खासै चर्चामा नआएको माइक्रोड्रामा उद्योग सन् २०३० सम्म वार्षिक २६ अर्ब अमेरिकी डलरको बजारमा पुग्ने अपेक्षा गरिएको छ ।

छोटो ढाँचाको कथावाचन सधैं सफल भएको इतिहास छैन। सन् २०२० मा ड्रीमवर्क्सका सह–संस्थापक तथा पूर्व डिज्नी कार्यकारी जेफ्री क्याट्जेनबर्गले १.७५ अर्ब डलर लगानीसहित ‘क्विबी’ नामक सर्ट–फर्म स्ट्रिमिङ प्लेटफर्म सुरु गरेका थिए। 

हलिउडका चर्चित कलाकारसहित १० मिनेटभन्दा कमका एपिसोड भए पनि क्विबी दर्शक तान्न असफल भयो र छ महिनामै बन्द हुन पुग्यो।

विशेषज्ञका अनुसार रीलशर्ट र ड्रामाबक्स सफल हुनुको कारण उनीहरूले कम बजेटमा, सुरुदेखि नै दर्शकलाई बाँध्ने कथा, लगातार क्लिफह्याङ्गर र सोपी रोमान्स तथा रिभेन्ज थ्रिलरमा केन्द्रित सामग्री प्रस्तुत गर्नु हो। क्विबीले सबैलाई लक्षित गर्न खोज्दा स्पष्ट पहिचान बनाउन नसकेको विश्लेषण गरिन्छ।

अब टिकटकले पाइनड्रामामार्फत यही सफल मोडेल दोहोर्‍याउने प्रयास गरिरहेको छ। सर्ट–फर्म सामाजिक सञ्जाल क्षेत्रमा प्रभुत्व जमाइसकेको टिकटक अब नयाँ मिडिया श्रेणीमा पनि आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्यमा देखिएको छ।