सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आफ्नो प्लेटफर्ममा रहेको डाइरेक्ट मेसेज (DM) सेवामा एन्ड-टु-एन्ड इन्क्रिप्सन लागू नगर्ने निर्णय गरेको छ। बीबीसीको एक नयाँ रिपोर्टअनुसार कम्पनीले यस्तो प्रविधि लागू नगर्ने बताएको हो।
टिकटकका अनुसार एन्ड-टु-एन्ड इन्क्रिप्सन लागू गर्दा प्रयोगकर्ताको सुरक्षा कमजोर हुन सक्छ। यस्तो प्रविधिले पुलिस वा सुरक्षा टोलीले आवश्यक परेमा सन्देशमा पहुँच पाउन नसक्ने भएकाले जोखिम बढ्ने कम्पनीको भनाइ छ।
कम्पनीले यो निर्णय प्रतिस्पर्धी प्लेटफर्मभन्दा फरक पहिचान बनाउन र विशेषगरी युवा प्रयोगकर्तालाई सुरक्षित राख्न गरिएको बताएको छ।
एन्ड-टु-एन्ड इन्क्रिप्सन प्रयोग हुँदा सन्देशको सामग्री केवल पठाउने र प्राप्त गर्ने व्यक्तिले मात्र हेर्न सक्ने हुन्छ। यसले तेस्रो पक्षलाई सन्देश पढ्नबाट रोक्छ।
टिकटकले भने आफ्ना डाइरेक्ट मेसेजहरू सामान्य इन्क्रिप्सनमार्फत सुरक्षित गरिएको जनाएको छ, जुन Gmail जस्ता सेवाहरूमा प्रयोग हुने सुरक्षा प्रणालीसँग मिल्दोजुल्दो छ। कम्पनीका अनुसार केवल अधिकार प्राप्त कर्मचारीहरूले मात्र विशेष अवस्थामा सन्देशमा पहुँच पाउन सक्छन्, जस्तै कानुनी निकायको वैध अनुरोध वा प्रयोगकर्ताले हानिकारक व्यवहारको रिपोर्ट गरेको अवस्थामा।
हाल लोकप्रिय मेसेजिङ एपहरू सिग्नल, ह्वाट्सएप, फेसबुक मेसेन्जर, एप्पल मेसेजेज र गुगल मेसेजेजमा भने एन्ड-टु-एन्ड इन्क्रिप्सन डिफल्ट रूपमा प्रयोग गरिएको छ।
आईसीटी समाचार