कीवर्डहरू -

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियाले लोकप्रिय सामाजिक सञ्जाल टिकटकको सञ्चालन लाइसेन्स निलम्बन गरेको छ। टिकटकले अगस्ट महिनामा भएको देशव्यापी प्रदर्शनको समयमा आवश्यक डेटा उपलब्ध गराउन असहयोग गरेको आरोप सरकारी अधिकारीहरुको छ । 

इन्डोनेसियाको डिजिटल तथा सञ्चार मन्त्रालयका अधिकारी एलेक्जान्डर साबारले दिएको जानकारीअनुसार अगस्ट २३ देखि ३० तारिखसम्म भएका प्रदर्शनका क्रममा टिकटकले केवल आंशिक डेटा मात्र उपलब्ध गराएको र यसले राष्ट्रिय कानुन उल्लङ्घन गरेको बताइएको छ। 

मन्त्रालयले टिकटकलाई सेप्टेम्बर २३ सम्म ट्राफिक, स्ट्रिमिङ र मोनेटाइजेशनसम्बन्धी सम्पूर्ण डेटा उपलब्ध गराउन निर्देशन दिएको थियो। अनुसन्धानमा केही खाता अनलाइन जुवासँग जोडिएको र प्रदर्शनका दिन टिकटक लाइभमार्फत नाफा कमाएको तथ्य बाहिर आएको थियो। इन्डोनेसियाली कानुनअनुसार जुवा पूर्णतया गैरकानुनी छ।

टिकटकले भने आन्तरिक नीतिका कारण सम्पूर्ण डेटा उपलब्ध गराउन नसकिएको जनाएको छ। यद्यपि ब्लूमबर्गको रिपोर्टअनुसार टिकटक हालसम्म पनि देशभित्र पहुँचयोग्य नै रहेको बताइएको छ।

अगस्टमा भएको हिंसात्मक प्रदर्शन इन्डोनेसियाको कमजोर अर्थतन्त्र, व्यापक प्रहरी क्रुरता र विभिन्न सरकारी नीतिहरूविरुद्ध भएको हो। सो समयमा टिकटकले आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै लाइभ फिचर केही दिनका लागि स्वयं निलम्बन गरेको थियो। इन्डोनेसियामा टिकटकका प्रयोगकर्ताको संख्या १० करोडभन्दा बढी छन्।

हालै दिएको अभिव्यक्तिमा साबरले प्रतिबन्ध कति समयसम्म रहने भन्नेबारे कुनै स्पष्ट संकेत गरेका छैनन्। उता, टिकटक प्रवक्ताले भने कम्पनीले सञ्चालन हुने देशका कानुनको सम्मान गर्ने बताउँदै, मन्त्रालयसँग सहकार्य गरेर समस्या समाधान गर्न लागेको बताएका छन्।